सर्लाहीका करिब डेढ सयजना शिक्षकहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका छन्।
सर्लाहीको सोल्टी बजारमा शनिबार दिउँसो माओवादी केन्द्र बागमती नगर समितिको पार्टी प्रवेश कार्यक्रमबाट ती शिक्षकहरु अन्य पार्टी छाडेर माओवादीमा प्रवेश गरेका हुन्।
बागमती नगरपालिका क्षेत्रका विभिन्न विद्यालयमा कार्यरत १५० जना शिक्षक माओवादी केन्द्रमा प्रवेश गरेपछि प्रचण्डले स्वागत गरेका हुन्।
उनीहरु एमाले र कांग्रेसका शिक्षक संगठन परित्याग गरेर माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका हुन्।
राजनीतिक दलका नेता, कार्यकर्ता र शिक्षकहरुलाई प्रचण्डले चर्को गर्मीबीच डेढ घण्टा लगाएर अवीर र माला लगाएर भित्र्याएका थिए।
सरकारले शिक्षकहरुलाई कुनै पनि दलमा आवद्ध हुन निषेध गरेको छ। पछिल्लो पटक निर्वाचित स्थानीय तहका केही जनप्रतिनिधिले शिक्षकलाई राजनीतिमा रोक्न खोजे पनि सफल हुन सकेका छैनन्।
कार्यक्रममा नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति जबाहर कुशवाहा, जिल्ला सदस्य पशुपति कार्की, एमाले बागमती नगर कमिटी सचिव हरि खड्का, उपसचिव मीना कार्कीसहित नेता कार्यकर्तालाई पनि प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अवीर र माला लगाउँदै स्वागत गरे।
Shares
प्रतिक्रिया