चीनको सिचुवान विश्वविद्यालयको दक्षिण एशिया अध्ययन संस्थान (इन्टिच्युट अफ साउथ एसिया स्टडीज) की कार्यकारी निर्देशक प्राध्यापक ली ताओले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छिन्।
अघिल्लो साता ‘चाइना एसोसियसन फर फ्रेण्डसीप’ र सिचुवान विश्वविद्यालयले ‘बुद्ध दर्शनः चीन, नेपाल र भारतबीचको सहकार्य’ विषयमा एक दिने गोष्ठी आयोजना गरेको थियो। सिचुवानमा आयोजना गरिएको सो कार्यक्रमको अवसरमा नेपालखबरसँग छोटो वार्ता गद्र्यै प्राध्यापक लीले चीनका लागि नेपालको महत्व विगतको तुलनामा झन् बढेको पनि बताइन्।
‘राष्ट्रपति सीको नेपाल भ्रमणमा नेपाल–चीनबीच बीआरआई परियोजना अन्तर्गत रेलमार्गको डीपीआरसहित अन्य विकासका परियोजना अगािड बढाउने सहमति जुटेपछि नेपालको महत्व झन् बढेको हो’, उनले भनिन्।
पश्चिम चीनको सिचुवान प्रान्तको राजधानी चेङ्दुमा रहेको सिचुवान विश्वविद्यालय खासगरी अन्तर्राष्ट्रिय सम्बन्ध मामिलामा प्रतिष्ठित विश्वविद्यालय मानिन्छ, जहाँ रहेको दक्षिण एशिया केन्द्रमा नेपालबारे समेत अध्ययन हुन्छ। चीनमा दक्षिण एशिया मामिला अध्ययन हुने यो एउटा मुख्य संस्थान हो।
सोही दक्षिण एशिया अध्ययन संस्थानका अर्का प्राध्यापक दाइ योङहोङले २३ वर्षपछि भएको राष्ट्रपति सीको नेपाल भ्रमणको प्रभाव दूरगामी हुने बताए।
‘बीआरआईका परियोजनाहरु कार्यान्वयनको चरणमा रहेको नेपालको सामरिक महत्व सीको भ्रमणपछि झन् बढेको छ’, उनले भने, ‘नेपाल–चीनबीचको दुइपक्षीय सम्बन्ध नयाँ उच्चाइमा पुगेको छ।’
सिगात्से–केरुङ–काठमाडौं रेलमार्ग निकट भविष्यमा भारतका लागि चीन जोडिने परियोजनाको एक महत्वपूर्ण अंश हुनसक्ने दाइले संकेत गरे।
‘उसैगरी चीनको दक्षिण एशिया जोडिने रेलमार्गको महन्वपूर्ण अंशको रुपमा केरुङ–काठमाडौं रेलमार्ग हुनसक्छ’, उनले थपे, ‘चीनको पुँजी, प्रविधि र व्यवस्थापन प्रणालीको फाइदा भारतले समेत लिन सक्छ। यो सबै छिमेकीका लागि अवसर हो।’
बुद्ध दर्शनबाट भारत, नेपाल र चीनबीच ‘त्रिदेशीय सहकार्य’ भइरहेको अवस्थामा राष्ट्रपति सीको भारत र नेपाल भ्रमणले राजनीतिक रुपमा त्यस्तो सहकार्य अगाडि बढाउन सहयोग पुर्याउने प्रयास अन्तर्गत चीनमा यस्ता कार्यक्रमहरू भइरहेको देखिन्छ।
त्यसो भए चीनले त्रिदेशीय सहकार्यको थालनी गरेको हो त भन्ने प्रश्न उठिरहेका बेला प्राध्यापक लीसँग गरिएको छोटो वार्ताः
नेपाल, चीन र भारतलाई कसरी बौद्ध संस्कृतिले एउटै मालामा जोडेको छ?
बौद्ध दर्शन भारतमा जन्मियो र उत्तर तथा पूर्वतर्फ फैलियो। नेपाल र चीनसम्म फैलिसकेपछि यो स्थानीय धर्म र संस्कृतिसँग एकीकृत भयो। जसका कारण फरकफरक रुपका बौद्ध मत निर्माण भए। उदाहरणका लागि तिब्बती बौद्ध धर्म अरुभन्दा अलग छ। अर्कोतिर, नेपाल र चीनमा स्थापित भएको बौद्ध संस्कृतिले भारत र अन्य मुलुकमा बौद्ध धर्मको विकासमा पनि ठूलो प्रभाव पारेको छ।
हालै राष्ट्रपति सी चिनपिङले नेपाल भ्रमण गर्नुभयो, सार्वजनिक रुपमा चर्चा भएजस्तो यसले दुई देशबीचको सम्बन्धलाई नयाँ मोड दिएको छ?
पछिल्ला केही वर्षमा चीन–नेपाल सम्बन्धमा ठूल्ठूला परिवर्तनहरु भएका छन्। नेपालको राजनीतिक अवस्था जस्तो भए पनि चीन र नेपालबीचको जनस्तरको सम्बन्ध निरन्तर विकसित भइरहेको छ। गत दश वर्षको अवधिमा मैले थुप्रै पटक नेपाल भ्रमण गरेको छु। यसबीचमा द्विपक्षीय सम्बन्धमा तीव्र परिवर्तन भइरहेको महसुस भएको छ। यो परिवर्तन दुवै देशको सामाजिक र आर्थिक विकासको वस्तुगत माग हो।
नेपाली राष्ट्रपतिको निमन्त्रणमा चिनियाँ राष्ट्रपतिको भ्रमण भयो। अहिलेको युगको आवश्यकता हेरेर यो भ्रमण गरिएको हो भन्न सकिन्छ। मलाई विश्वास छ, राष्ट्रपति सीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ।
चीनका लागि दक्षिण एसिया प्रवेश गर्ने मुख्य ढोका नेपाल हो भन्ने गरिन्छ। त्यस्तो हुन सक्ला त?
पहिलो कुरा त चीन र भारतबीच रहेका नाकाले चीन र दक्षिण एसियाली मुलुकबीच हुने ‘ट्रान्जिट व्यापार’ मा नेपालको भूमिकालाई कमजोर बनाउने छैन। चीन र नेपाललाई जोड्ने पूर्वाधारले नेपाललाई मात्र फाइदा गर्दैन। बरु, यसले चीन र भारतको भित्री क्षेत्रमा आपूर्ति व्यवस्था सहज बनाउन पनि सघाउँछ। भुटानजस्ता अन्य मुलुकलाई पनि यसले फाइदा गर्छ।
दोस्रो, चीन र भारतबीच व्यापारिक साझेदारी बढ्यो भने पनि नेपाललाई घाटा होइन, नाफा हुन्छ। त्यसबाहेक ‘चीन–भारत–नेपाल आर्थिक करिडोर’ र अझ भन्दा ‘चीन–भुटान–भारत–नेपाल उपक्षेत्रीय सहकार्य’ ले पनि यो क्षेत्रको आर्थिक विकासलाई अघि बढाउने छ। यो पनि सबैलाई फाइदा पु¥याउने संयन्त्र बन्न सक्छ।
यस्ता बहुपक्षीय संयन्त्र स्थापना भएर काम गर्न थालेपछि मात्रै हिमालको काखमा अवस्थित नेपाल र भुटान भूपरिवेष्ठितबाट ‘भूजडित मुलुक’ बन्न सक्छन्। र, उनीहरुले विकासको ठूलो अवसर पाउने छन्।
‘भूजडित मुलुक’ बन्न कनेक्टिभिटि प्रमुख हुन्छ र, केरुङ–काठमाडौँ रेलमार्गलाई त्यसको मुख्य आधार मानिएको छ। भारतको सहभागिताबिना यो रेलमार्ग बनाउन सम्भव छ?
केरुङ–काठमाडौँ रेलमार्ग निर्माण नेपाल र चीनबीचको मामिला हो। यसमा भारत सहभागी हुनुपर्ने कारण के छ र? यदि यी तीनै देशले क्षेत्रीय पूर्वाधार निर्माण तथा कनेक्टिभिटिमा सहकार्य गरे भने पक्कै पनि त्यो तीनै देशका बासिन्दाका लागि सुखद् खबर हुनेछ। तर, मलाई के लाग्छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई सफल पार्नु र चीन–नेपाल रेलमार्ग चाँडोभन्दा चाँडो निर्माण गर्नु नेपालका लागि अत्यन्त महत्वपूर्ण छ। जनताको जीविका र विकासका लागि हामीले यस्ता अनावश्यक भूराजनीतिक बाधाहरुलाई त्याग्नुपर्छ।
बीआरआई परियोजनामा नेपालका लागि कस्ता अवसर र चुनौती छन्?
पछिल्ला वर्षमा नेपाल सरकार र धेरैजसो राजनीतिक पार्टीहरु बीआरआईमा सहभागिताका विषयमा इच्छुक र सकारात्मक छन्। पक्कै पनि बीआरआईले नेपालका लागि अनेकौँ अवसर ल्याउने छ। बीआरआईले अघि सारेको पाँच मुख्य प्राथमिकताले नेपालले भोगिरहेको विकासका बाधाहरुलाई समाधान गर्न सघाउने छ। बीआरआईका ‘नीति निर्माणमा सहकार्य’ र ‘जनस्तरको सम्बन्ध’ जस्ता सिद्धान्तले सहकार्यको सुनिश्चितता गर्नेछ।
मलाई के लाग्छ भने आर्थिक विकास र सामाजिक आदानप्रदानका आफ्नै नियम हुन्छन् र तिनलाई पालना गर्नुपर्छ। बीआरआईले सबै समस्या तुरुन्तै समाधान गरिदिन्छ भन्ने आशा राख्नु मूर्खता हो। त्यसमाथि, तेस्रो पक्षबाट हुने हस्तक्षेपलाई होसियारीपूर्वक सम्बोधन गर्न आवश्यक छ।
प्रतिक्रिया