ad ad

कारोबार


मनमोहन प्राविधिक विश्वविद्यालयलाई दायित्व हस्तान्तरण

मनमोहन प्राविधिक विश्वविद्यालयलाई दायित्व हस्तान्तरण

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १५:२९,

मोरङको बूढीगंगा गाउँपालिकामा अवस्थित मनमोहन स्मृति पोलिटेक्निकको दायित्व तथा सम्पत्ति ‘मनमोहन प्राविधिक विश्वविद्यालय’लाइ हस्तान्तरण गरिएको छ।

पोलिटेक्निकका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रदेश नं १ का सामाजिक विकासमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेलाई सो दायित्व तथा सम्पति हस्तान्तरण गरेका हुन्। मुलुकलाई चाहिने जनशक्ति उत्पादन हेतुले पोलिटेक्निकलाई प्रदेशसभाको बहुमत सदस्यले विश्वविद्यालय बनाउन गत असोज ६ गते विधेयक पारित भई ऐनको रुपमा प्रमाणीकरण भइसकेको छ।

सो विश्वविद्यालयमा तीन तह आधारभूत, माध्यमिक र उच्च तहको दक्ष जनशक्ति उत्पादन हुनेछ। विश्वविद्यालको हालसम्म अचल सम्पत्ति २० बिघा १९ कट्ठा जग्गामा ३१ वटा भवन गरी कूल रु दुई अर्ब एक करोड ६४ लाखको सम्पत्ति रहेको छ। विसं २०६० मा भारत सरकारको सहयोगमा स्थापना भएको पोलिटेक्निकको रुपमा रहँदा ३० जिल्लाका एक हजार ४६० विद्यार्थीले विभिन्न छ विधाको इञ्जिनीयरिङमा स्नातक उत्तीर्ण गरिसकेका छन्।

उत्पादित विद्यार्थीमध्ये ९३३ स्वदेश तथा विदेशमा काम गरिरहेको प्राचार्य सुभाषश्री पोखरेलले जानकारी दिए। पोलिटेक्निकमा हाल ६१७ विद्यार्थी अध्ययन गरिहरेका छन् भने पाँच हजार ५५० स्थानीयलाई सीपमूलक तालीम प्रदान गरेको छ। हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री पोखरेलले उद्योगसँगको रोजगारी उपलब्ध गराउन पोलिटेक्निकले ठूलो भूमिका खेलेको बताउँदै जनसाझेदारीमा विश्वविद्यालय सञ्चालन हुने बताए।

उनले मनमोहन अधिकारीको विचार, आदर्श र निष्ठालाई चिरस्थायी बनाउन मनमोहन प्रतिष्ठान स्थापना गरेको चर्चा गर्दै प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गरी स्थानीयस्तरमा रोजगार बनाउने उनको सपना आज पूरा भएको स्मरण गरे। उपप्रधानमन्त्री पोखरेलले सरकारले सबै प्रदेशमा प्राविधिक विद्यालय स्थापना गरी ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत अन्य शिक्षा प्रदान गर्ने सोचलाई कार्यान्वयन गर्न यस विश्वविद्यालयले नेतृत्व गर्ने विश्वास व्यक्त गरे।

उनले प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न कृषिको व्यवसायीकरण, निजी लगानीमा उद्योग स्थापना, ऊर्जाको विकास, पर्यटन र पूर्वाधार निर्माणमा सबैको सहयोग आवश्यक रहेको छ भने। विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले दूरगामी र अग्रगामी सोचका साथ विश्वविद्यालय स्थापना गरेको जानकारी दिए।

उनले विश्वविद्यालयका उत्पादन हुने जनशक्ति स्वदेश तथा विदेशमा उपयोग हुनेमा जोड दिँदै विद्यालयले सन् २०३० का लागि गुरुयोजना बनाई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। सामाजिक विकासमन्त्री घिमिरेले विश्वविद्यालय प्राविधिक र व्यावसायिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा रहने बताउँदै आगामी एक वर्षभित्र पठनपाठन शुरु गर्ने जानकारी दिए।

प्राचार्य पोखरेल, प्रतिष्ठानलाई रु छ करोड प्रदान गर्ने दाता हरिप्रसाद काफ्ले र प्रतिष्ठानका सत्यनारायण चौधरीले यहाँ अध्ययन गरेका विद्यार्थीले मुलुकको विकासमा सहयोग पुर्‍याउने बताए। पोलिटेक्निकमा हाल १०३ शिक्षक र कर्मचारी कार्यरत छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .