नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले जाजरकोटबाट अन्तिमपटकका लागि निर्वाचन लड्न चाहेको बताएका छन्। उनले मंगलबार ट्विटरमार्फत आसन्न संघीय निर्वाचनमा जाजरकोटबाट अन्तिम पटकका लागि उम्मेदवार बन्न चाहेको बताएका हुन्।
नेता शाहले बूढो हुँदासम्म पदका लागि मरिहत्ते नगर्ने भन्दै उमेर छँदै राजनीतिमार्फत सेवा गर्ने चाहना भएको उल्लेख गरेका छन्। यसपटक चुनाव लडेर अर्कोपल्ट युवालाई सहयोग गर्ने उनको भनाइ छ।
‘म बूढो हुँदासम्म पदका लागि मरिहत्ते गर्दिनँ। मेरो पैसा कमाउने कुनै स्वार्थ छैन। भ्रष्टाचार अन्त्य र महँगी कमका लागि मेरो पहिलो प्राथमिकता हो’, शाहले लेखेका छन्, ‘उमेर छँदै राजनितिमार्फत सेवा गर्छु। जाजरकोटको विकासका लागि पहल गर्छु। यसपटक चुनाव पनि लड्छु। त्यसपछि युवा साथीहरूलाई सहयोग गर्छु।’
यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतसँग ९ हजार मतान्तरले हारेका थिए। शाहले २३ हजार २८९ मत ल्याउँदा बस्नेत ३२ हजार २८१ मतका साथ विजयी भएका थिए।
उक्त निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए। गत निर्वाचनमा जाजरकोटबाट माओवादी केन्द्र र कांग्रेसबाहेकका दलका उम्मेदवारले मात्र तीन अंकको मत प्राप्त गरेका थिए।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा एमाले बलियो देखिन्छ। उसले जाजरकोटमा २४ हजार ४, कांग्रेसले २२ हजार ३४२, माओवादीले १८ हजार ६२२, नेकपा एकीकृत समाजवादीले २ हजार ३३४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १३४ र जनता समाजवादी पार्टी (जसपा) नेपालले २४ मत पाएका छन्।
Shares
प्रतिक्रिया