थापाथलिस्थित नर्भिक अस्पतालले नेपाल सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै अहिले तत्काल अस्पतालको भवन भत्काउन नसक्ने बताएको छ।
मंगलबार एक पत्रकार सम्मेलन जारी गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरे।
‘आजसम्म कुनै कम्प्लेन छैन्। एकाएक आजभन्दा ८/१० दिनअघि बागमती प्रदेशको पर्यटनमन्त्री आएर हटाउनपर्छ भन्नुभएछ,’ मिश्रले भने, ‘त्यसपछि मैले कन्ट्याक्ट गर्दा उहाँ आउनुभएन्।’
तत्कालिन सरकारको तर्फबाट भूमि सुधार अधिकारीले हस्ताक्षर गरेको उनले दाबी गरेका छन्। आफ्नो अस्पतालमा सयौं बिरामीहरु क्रिटिकल अवस्थामा रहेको भन्दै उनले तत्काल भत्काउन नसक्ने बताएका छन्।
सो बारे काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई लिखित रुपमा पत्र नै पठाएको उनले बताए। आफ्नो अस्पताल गैरकानुनी नभएको उनले दाबी गरे।
‘हामीले त्यो जग्गा हाम्रो भनेका पनि छैनौं। आजकोे आजै भत्काउनु भनेर कसरी हुन्छ। मेरो अस्पतालमा अहिले भर्ना भएका बिरामीको के हाल हुन्छ?’ मिश्रले पत्रकार सम्मेलनमा भने, ‘हाललाई भत्काउन सकिँदैन भनेर मैले ेयरलाई प्रष्ट भनेको छु। उहाँको जवाफ अहिलेसम्म आएको छैन्।’
काठमाडौं महानगरपालिकाले सोमबार नर्भिक अस्पतालको भवन २४ घन्टाभित्र हटाउन निर्देशन दिएको थियो।
Shares
प्रतिक्रिया