माओवादी केन्द्रले शनिबार चयन गरेको पदाधिकारीमा एक जना सहिद परिवारका नेता पनि परेका छन्। पोस्टबहादुर बोगटीको मृत्युपछि माओवादीका पदाधिकारीमा सहिद परिवार थिएनन्।
२१ सदस्यीय पदाधिकारीमा रहेका सहिद परिवार हुन्, गोरखाका हितराज पाण्डे।
उनी नौ सचिवमध्ये एक हुन्। पहिलोपटक स्थायी समिति सदस्य हुँदै उनी सचिव बन्न सफल भएका हुन्।
गोरखाको लक्ष्मी माध्यामिक विद्यालयको हेडमास्टरको जागिर छोडेर २०५२ सालमै जनयुद्धमा होमिएका उनका एक छोराको तत्कालीन नेपाली सेनाले हत्या गरेको थियो।
जनयुद्धमा दुई छोरा, एक छोरी र श्रीमतीसहित उनको पाँचै जना परिवार सहभागी भएको थियो।
तर जेठा छोरा मिलन पाण्डे २०६० पुस ४ गते तत्कालीन राज्यबाट मारिएका थिए। दोस्रो संविधान सभामा गोरखा २ बाट निर्वाचित उनी प्रचण्डका विश्वासपात्र मानिन्छन्।
उनी शान्ति प्रक्रियामा आएपछि दुई पटक मन्त्री बने। पछिल्लो पटक २०७४ मा उनी संघीय मामिला तथा स्थानीय विकासमन्त्री भएका थिए।
उनले तीन कार्यकाल माओवादीको कार्यालय सचिव भएर काम गरेका छन्।
यसअघि पोस्टबहादुर बोगटी हेटौंडा महाधिवेशनबाट महासचिव र विराटनगरमा भएको राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष भएका थिए।बोगटीको एकमात्र छोरा रबि बोगटीको सेनाबाट मारिएका थिए।
बोगटीको २०७१ भदौ ३० मा हृदयघात र मस्तिष्कघातका कारण मृत्यु भएको थियो।
शनिबार माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारीमा वरिष्ठसहित २ उपाध्यक्ष, १ महासचिव, ७ उपमहासचिव र ९ सचिव बनाएको छ।
Shares
प्रतिक्रिया