ad ad

राजनीति


छाङरुमा ठडियो चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ, राष्ट्रपतिले अनावरण गर्ने

छाङरुमा ठडियो चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ, राष्ट्रपतिले अनावरण गर्ने

छाङरुमा निर्मित चुच्चे नक्सासहितको राष्ट्रिय स्तम्भ र राष्ट्रपतिलाई छाङरुमा आमन्त्रण गर्न गएको पालिकाको टोली।


गोकुल जोशी
असोज १५, २०७९ शनिबार ८:४३, कञ्चनपुर

दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ तयार भएको छ। 

व्याँस गाउँपालिकाले करिब १५ लाख बढि लगानीमा छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भ बनाएको हो। 

साउनमा निर्माण सुरु भएको १५ फिट अग्लो राष्ट्रिय स्तम्भ तयार भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।

‘स्तम्भ बनाइएको छ, स्तम्भको माथि चुच्चे नक्सा राखिएको छ, माथि नेपालको झण्डा राखिन्छ,’ उनले भने, ‘रङ्गरोगनबाहेक सम्पूर्ण काम सकिएको छ।’

भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमुनिको छाङरु बस्तीमा निर्माण भएको राष्ट्रिय स्तम्भ उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम तय भएको छ।

राष्ट्रिय स्तम्भ उद्घाटन गर्न राष्ट्रपति भण्डारी असोज २७ गते छाङरु आउने कार्यक्रम तय भएको पालिका अध्यक्ष धामीले जानकारी दिए।

छाङरु र तिंकरमा राज्यको उपस्थिति तथा देश-विदेशमा नेपाल चिनाउन स्तम्भ तयार पारिएको अध्यक्ष धामी बताउँछन्।

‘राष्ट्रपतिज्यू २७ गते आउने कार्यक्रम तय भएको छ, हामी आन्तरिक तयारीमा लागेका छौँ,’ उनले भने, ‘उहाँ हेलिकोप्टरमार्फत सिधै छाङरु आएर स्तम्भको उद्घाटनपछि फर्किनुहुने छ ।’

राष्ट्रपति भण्डारीलाई छाङरु आउन आमन्त्रण गर्न संघीय राजधानी काठमाडौँ गएका अध्यक्ष धामी केही दिनअघि गृहपालिका फर्किएर कार्यक्रमको तयारीमा जुटेका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारको पाला भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको थियो। जसलाई चलनचल्तिको भाषामा चुच्चे नक्सा भनेर चिनिन्छ।

कालापानी क्षेत्र समेटेर नक्सा जारी भए पनि त्यो क्षेत्र अझै नेपालले पाएको छैन। 

छाङरुबाट अढाई/तीन घण्टाको पैदल यात्रापछि भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी पुगिन्छ। त्यस क्षेत्रलाई भारतले ठूलो ब्यारेक बनाएर सेना राखेको छ।

चीन सीमासँग पनि जोडिएको व्याँस गाउँपालिकाका छाङरु र तिंकरमा सौका समुदायको बसोबास छ। छाङरु र तिंकर पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतको बाटो प्रयोग गर्नु पर्ने त्यहाँका बासिन्दाको बाध्यता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .