ad ad

राजनीति


एमाले सुदूरपश्चिम : माओवादीबाट आएकालाई काखा, १० बुँदेहरुलाई पाखा

ओलीले साइड लगाए भीम रावल र दीपकप्रकाश भट्टलाई
एमाले सुदूरपश्चिम : माओवादीबाट आएकालाई काखा, १० बुँदेहरुलाई पाखा

फाइल तस्बिर


गोकुल जोशी
असोज २२, २०७९ शनिबार ११:४१, कञ्चनपुर

नेकपा एमालेले सुदूरपश्चिममा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको टिकट वितरणमा १० बुँदे पक्षधरलाई पाखा लगाएको छ।

एमाले विभाजनमा १० बुँदे सहमतिसँगै तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको साथ छोडेर एमालेमै बसेका सुदूरपश्चिमका दुईजना निवर्तमान सांसद यसपटक उम्मेदवार बन्नबाट बञ्चित भएका छन्।

१० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजकसमेत रहेका पूर्वउपाध्यक्ष डा.भीम रावलको टिकट यसपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले खोसिदिएका छन्।

लामो समयदेखि पार्टी रहेका तर विगतमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई पाखा लगाएर भर्खरै पार्टीमा आएका पूर्वमाओवादीलाई टिकट दिएपछि एमालेमा असन्तुष्टि चर्किएको छ।

रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोहको तयारी भएको छ। ‘एकल सिफारिस भएका लामो समयदेखि सक्रिय जित्ने उम्मेदवारको टिकट खोसेर अरुलाई दिइएको छ, यो षड्यन्त्रपूर्ण गलत निर्णयको विरोध गर्छौ,’  अछाम–१ का समन्वय कमिटी संयोजक प्रकाश शाहले नेपालखबरसँग भने, ‘क्षेत्र नम्बर १ का सम्पूर्ण कमिटी र जिल्ला कमिटी सदस्यहरुले जिम्मेवारीबाट सामूहिक राजीनामा दिने भएका छौँ ।’

जिल्ला कमिटी हुँदै प्रदेश कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले झपड बोहरालाई टिकट दिएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन।

१० औँ महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा धावा बोलेपछि दुईजनाबीचको सम्बन्ध बिग्रिएको छ। एमाले विभाजन हुँदा १० बुँदे सहमतिपछि माधवकुमार नेपालको साथ छोडेर रावल एमालेमै बसेका थिए।

एमाले नेता रावलले अछामबाट वि.सं. २०४८ सालदेखि चुनाव लडिरहेका छन्। ०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा भने अछाम १ बाट जितेका थिए। 

भीम रावल ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे। त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे। ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुई चोटि सांसद बनेका थिए।

१० बुँदे पक्षधर मानिने कञ्चनपुर क्षेत्र नम्बर ३ मा ०७४ मा जितेका डा. दीपकप्रकाश भट्टले पनि यसपटक टिकट पाएनन्। 

कञ्चनपुर ३ मा एमालेले ओलीकी विश्वासपात्र एवम् जिल्ला इन्चार्ज निरुदेवी पाललाई प्रतिनिधि सभाको टिकट दिइएको छ।

एमालेबाट टिकट पाउनेहरुमा माओवादी पृष्ठभूमिका नेताहरुको हालीमुहाली छ। माओवादीबाट एमालेमा समाहित भए हालका एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट कैलाली ४ मा उम्मेदवार बनेका छन्। 

यस्तै, माओवादीबाटै एमालेमा समाहित भएका गौरीशंकर चौधरीले कैलाली ३ मा टिकट पाएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यका लागि पूर्वमाओवादीका वीरबहादुर थापा (पातल) ले पनि टिकट पाएका छन्।

१० बुँदे पक्षधर निवर्तमान सांसदमध्ये झपड रावल (कैलाली २) ले मात्रै टिकट पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .