नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको हस्तक्षेपका कारण युवा नेता प्रदीप पौडेल गृहजिल्ला तनहुँ छाड्न बाध्य भएका छन्।
पौडेलले आसन्न निर्वाचनमा आफू तनहुँ–१ मा सुरक्षित हुन हस्तक्षेप गरेर युवा नेता पौडेललाई तनहुँ–२ छाड्न बाध्य पारेका हुन्।
उनले आफू सुरक्षित रहन क्षेत्र–२ मा अर्का नेता शंकर भण्डारीका लागि टिकटको लबिङ गरेको टिकट बाँडफाँटमा संलग्न एक नेताले बताए।
ती नेताका अनुसार तनहुँ–१ मा वरिष्ठ नेता पौडेल र तनहुँ–२ मा नेता भण्डारीलाई प्रतिनिधिसभा सदस्यका लागि टिकट दिइएको छ।
‘तनहुँ–२ मा प्रदीपजीको परिस्थिति अनुकुल र चाहना हुँदाहुँदै पनि जिल्ला बाहिरिन बाध्य पारियो,’ ती नेताले नेपालखबरसँग भने, ‘यसमा रामचन्द्र दाइले आफू सुरक्षित हुन क्षेत्रीय समितिबाट सिफारिसन नै नभएका शंकर भण्डारीलाई टिकट दिलाउन लबिङ गर्नुभयो।’
ती नेताले तनहुँको टिकट बाँडफाँटका क्रममा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अगाडि वरिष्ठ नेता पौडेलसँग युवा नेता पौडेलले चर्को असन्तुष्टि व्यक्त गरेको पनि बताए।
उनका अनुसार यसअघि सभापति देउवा र वरिष्ठ नेता पौडेलले तनहुँ–२ बाट युवा नेता पौडेललाई नै टिकट दिने आश्वासन दिएका थिए।
गृहजिल्ला तनहुँको निर्वाचन क्षेत्र नम्बर २ मा टिकट नदिइएपछि नेता पौडेल काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्।
उनले नेपालखबरसँगको संक्षिप्त कुराकानीमा आफूले काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएको प्रतिक्रिया दिए।
‘मैले खोजेको तनहुँ–२ थियो। त्यहाँ पाउन सकिएन,’ पौडेलले भने, ‘अब काठमाडौं–५ बाट उम्मेदवारी दिन्छु। टिकट भइसकेको छ।’
२०७४ मा सम्पन्न निर्वाचनमा उनी मात्र ५ मतले प्रदेशसभा सदस्यमा पराजित भएका थिए।
नेकपा माओवादी केन्द्रकी नेतृ आशा कोइराला १६ हजार ६४६ मतले प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त गरेका थिए।
Shares
प्रतिक्रिया