नेकपा माओवादी केन्द्रले बागमती प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६ नयाँ नेतालाई मौका दिएको छ।
दोलखाबाट उम्मेदवारी दिएका गंगा कार्की (विश्व) पहिलो पटक उम्मेदवार बनेका हुन्। जनयुद्धमै पार्टीको उच्च तहमा पुगेपनि उनले अहिलेसम्म कुनै चुनाव लड्ने अवसर पाएका थिएनन्।
यसपटक पाँच दलीय गठबन्धनको साथ पाएर उनले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन्।
काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवार बनाइएकी मानुषी यमी भट्टराईले पनि डेब्यु गरेकी छन्।
भक्तपुर क्षेत्र नम्बर १ बाट सुनिल बासु उम्मेदवार बनेका छन्। उनी पनि पहिलो पटक चुनाव लड्दैछन्।
यस्तै चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाइएका डा. भोजराज अधिकारी गैरराजनीतिक पृष्ठभूमिका हुन्।
बागमती प्रदेशमा माओवादी केन्द्रले ललितपुर क्षेत्र नम्बर ३ मा पम्फा भुसाल, नुवाकोट १ मा हितबहादुर तामाङले टिकट पाएका छन्।
भुसाल र तामाङ यसअघि २०७४ को चुनावमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसपटक माओवादीले काठमाडौं २ मा संविधान सभा सदस्य ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ।
उनले रोल्पाबाट २०७० को संविधान सभा चुनाव जितेकी थिइन। उनी त्यसपछि सभामुख पनि भइन्। २०७४ मा उनी समानुपातिक सांसद थिइन्।
माओवादीले काभ्रे १ मा सूर्यमान दोङ र काठमडौं ९ मा कल्पना धमलालाई उम्मेदवार बनाएको छ।
२०६४ को पहिलो संविधान सभा चुनावमा दोङ काभ्रे १ र धमला धादिङ ३ बाट चुनाव जितेर सभासद भएका थिए।
२०७४ को चुनावमा एमालेसँग तालमेल गरेको माओवादीले काठमाडौं ९ पाएको थिएन। तर, काभ्रे १ भने जितेको थियो। सो क्षेत्र जितेका प्रेम तामाङले यसपटक टिकट पाएनन्।
बागमती प्रदेशमा १३ जिल्लाबाट प्रतिनिधि सभामा ३३ निर्वाचन क्षेत्र छ। माओवादी केन्द्रले प्रतिनिधि सभामा रसुवा, मकवानपुर, धादिङ र रामेछापमा उम्मेदवारी दिएको छैन।
रामेछापमा २०७४ मा श्याम श्रेष्ठले चुनाव जितेका थिए। यसपटक गठबन्धनबाट माओवादीको भागमा ती कुनैपनि जिल्ला नपरेपछि उम्मेदवारी दिन नपाएको हो।
Shares
प्रतिक्रिया