पूर्वमन्त्री सरिता गिरीले सिरहा–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।
उनले आइतबार प्रतिनिधिसभा सदस्यका लागि सिरहा–१ मा उम्मेदवारी दर्ता गराएकी हुन्।
उनले केही समय अघि नेपाली कांग्रेसका नेता प्रदीप गिरिको इच्छाअनुसार सद्भावना पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन्।
‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ गिरीले फेसबुकमा लेखेकी थिइन्, ‘नेपाल सद्भावना पार्टीलाई मैरो सदैव सद्भावना रहने छ।’
नेतृ गिरी पहिलो संविधानसभामा तत्कालीन नेपाल सद्भावना पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन्। दोस्रो संविधानसभा निर्वाचनमा सद्भावना पार्टीका तर्फबाट पर्सा–१ उम्मेदवार बनेकी गिरी पराजित भएकी थिइन्।
२०७४ मा उनलाई उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिक सांसद बनाएको थियो। संसद्ले लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा राखेर संविधान संशोधन गरेको विषयमा पार्टीको निर्देशन नमानेपछि नेतृ गिरीलाई पार्टीले सांसदबाट हटाएको थियो।
Shares
प्रतिक्रिया