ad ad

राजनीति


उम्मेदवारहरुले फेसबुकमा बुस्ट गरेको हिसाब पनि देखाउनुपर्ने

उम्मेदवारहरुले फेसबुकमा बुस्ट गरेको हिसाब पनि देखाउनुपर्ने

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०७९ मंगलबार १६:९, काठमाडौँ

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा सामाजिक सञ्जाल प्रयोगलाई लिएर नयाँ मापदण्ड ल्याएको छ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले मंगलबार एक विज्ञप्ति निकालेर सामाजिक सञ्जाल फेसबुकमार्फत गरिने प्रचार प्रसार विज्ञापनको पनि उम्मेदवारहरुले हिसाब देखाउनुपर्ने उल्लेख गरेका छन्। 

आयोगले सामाजिक सञ्जालमार्फत हुने सबै खर्चविवरण चुस्त दुरुस्त राख्न राजनीतिक दलहरु र उम्मेदवारहरुलाई आग्रह गरेको छ। 

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हदसमेत निर्धारण गरी सार्वजनिक गरिसकेको पनि स्मरण गराएको छ।

'उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग समेतबाट गर्ने विज्ञापनलाई निर्वाचन खर्चमा समावेश गरिने विषयबारे आयोग, सम्बन्धित दल र उम्मेदवारलाई स्मरण गराउन चाहन्छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ', पौडेलले भनेका छन्, 'सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सकिएपछि कानुन बमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेकोबारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाइ परीक्षण गरिने भएकाले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरण चुस्तदुरुस्त राख्न सम्बन्धित सबै दल र उम्मेदवारलाई आग्रह गरिन्छ।'

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को (ठ) मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था रहेको पनि स्मरण गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .