प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध राजावादी तागत (शक्ति) लागेको बताएका छन्।
कांग्रेस सभापतिसमेत रहेका देउवाले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनप्रति संकेत गर्दै उनले आफूलाई राष्ट्रवादी भन्नेहरु सत्ता गठबन्धनविरुद्ध लागेको उल्लेख गरे।
पाँच दलीय गठबन्धनले शुक्रबा बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा देउवाले एमाले-राप्रपासहितका पक्ष राष्ट्रवादी हुनै नसक्ने दाबी गरे।
'सत्ता गठबन्धनको खिलाफमा राजावादी तागत लागेको छ', उनले भने, 'उनीहरुले राष्ट्रवादी हो भन्न थालिसके, असली मानेमा राष्ट्रवादी हामी हौँ। लडेर व्यस्था ल्याउने हामी, उनीहरु कसरी राष्ट्रवादी हुन्छन्?'
देउवाले गठबन्धनलाई शंका-उपशंका गर्ने ठाउँ पनि नदिन कार्यकर्ताहरुलाई आग्रह गरे।
उनले अझै केही वर्षसम्म संघीयता, गणतन्त्र र समावेशी व्यवस्थासहितका उपलब्धि बचाउन गठबन्धन आवश्यक भएको उल्लेख गरे।
देउवाले टिकट पाइएन भनेर निराश नहुन पार्टीका कार्यकर्तालाई आग्रहसमेत गरे।
‘गठबन्धन छ जितिहाल्छु भन्ने धेरैमा छ। गठबन्धन हुँदैमा सबैले टिकट त पाउँदैनन् नि!’, उनले भने, ‘साथीभाइलाई प्रदेश छन्, समानुपातिकमा ठाउँ छ, अरु नियुक्तिहरु पनि हुन्छन्।’
देउवाले सम्बोधनका क्रममा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायत नेताहरुले आफूलाई प्रधानमन्त्री बनाएकाले पनि गठबन्धनलाई धोका नदिन आग्रह गरे।
Shares
प्रतिक्रिया