ad ad

राजनीति


प्रचण्डलाई भेटेपछि ढुंगानाले भने : अब मेरो उम्मेदवारी निष्क्रिय भयो

प्रचण्डलाई भेटेपछि ढुंगानाले भने : अब मेरो उम्मेदवारी निष्क्रिय भयो

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १२:२४, सर्लाही

महोत्तरी क्षेत्र नम्बर १ ‘क’ को प्रदेशसभा सदस्य पदका उम्मेदवार माओवादी नेता राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन्। 

सोमबार बिहान खुमलटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि उम्मेदवारी निष्क्रिय पार्ने निष्कर्षमा पुगेको ढुंगानाले बताए। 

छलफलमा महोत्तरी १ बाट संघीय संसदको उम्मेदवार माओवादी नेता गिरीराजमणि पोखरेललको पनि उपस्थिति थियो। पोखरेल महोत्तरी १ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार छन्।

स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट बर्दिबासको मेयरको टिकट दाबी गर्दै आएका ढुंगाना टिकट नपाएपछि रुष्ट थिए। 

ढुंगाना बागी उठेका कारण गठबन्धन दलको मत प्रभावित हुने भय माओवादीलाई भएपछि उनको उम्मेदवारी निष्क्रिय बनाउन पार्टी नेतृत्व लागि परेको थियो। 

उम्मेदवारी निष्क्रिय पारेपछि ढुंगानाले आफू अब गिरीराजमणि पोखरेललाई विजयी बनाउन लागि पर्ने बताए।

महोत्तरी १ को प्रदेश सभा ‘ख’ मा माओवादी नेता भरत साह गठबन्धनको तर्फबाट साझा उम्मेदवार छन्। 

तर, यो क्षेत्रमा पनि माओवादीबाटै विष्णु लामाले साहविरुद्ध बागी उम्मेदवारी दिएका छन्। लामाले अझै उम्मेदवारी निष्क्रिय बनाउन सहमति जनाएका छैनन्।

यता ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर पोखरेललाई समर्थन गरे पनि महोत्तरी १ को ‘क’मा पाँच दलीय गठबन्धनले अझै आफ्नो उम्मेदवार टुंग्याउन सकेको छैन। 

यो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका नेता सुरेशबहादुर राउत र लोसपाबाट पीताम्बर महतोले उम्मेदवारी दर्ता गरेका छन्। 

प्रदेश सभा ‘क’ मा आधिकारिक उम्मेदवार टुंग्याउन आजै गठबन्धन दलका शीर्ष नेताबीच छलफल हुन लागेको एक नेताले जानकारी दिए।

प्रदेश सभा ‘क’ मा गठबन्धन दलको जिल्ला नेतृत्वले आधिकारिक उम्मेदवार टुंग्याउन नसकेपछि जिल्ला नेताहरुले केन्द्रलाई गुहारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .