ad ad

राजनीति


रास्वपाले संगठन विस्तार थाल्ने, देशभरको नेटवर्कलाई समितिमा रुपान्तरण गर्ने तयारी

२१ पुसमा केन्द्रीय समिति बैठक
रास्वपाले संगठन विस्तार थाल्ने, देशभरको नेटवर्कलाई समितिमा रुपान्तरण गर्ने तयारी

नेपालखबर
पुस १८, २०७९ सोमबार १६:३०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी संगठन विस्तार गर्ने भएको छ।

पार्टी गठन गरेको ६ महिनामै संसदीय चुनावमा प्रत्यक्ष र समानुपातिकबाट २० सिट जितेर प्रतिनिधि सभाको चौथो शक्ति बनेको रास्वपाले अब भने देशव्यापी संगठन बनाउन लागेको उपसभापति डोलप्रसाद अर्यालले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार यसबारे निर्णय गर्न २१ पुसमा केन्द्रीय समिति बैठक बोलाउने तयारी छ।त्यही बैठकबाट सभापति रवि लामिछानेलाई बधाई कार्यक्रम राखेर देशभर संगठन बनाउने अभियानको थालनी गर्ने उनले बताए।

‘अब हामी केही समय संगठन विस्तारमा लाग्छौं,’ अर्यालले भने, ‘यसबारे नीति बनाउन यही पुस २१ गते केन्द्रीय समितिको बैठक बोलाउने तयारी भइरहेको छ। त्यही बैठकबाट यी हाम्रा कार्यक्रम तय हुन्छन्।’

पार्टीका सभापति रवि लामिछाने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान र गृहमन्त्री छन्।  

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा शानदार मत ल्याएर जितेका उनी मन्त्री बनेपछि अन्य नेताहरु पार्टीलाई बलियो बनाउन खटिन लागेका हुन्।

रास्वपाको अहिले २४ सदस्यीय केन्द्रीय समिति छ। त्यो संख्या थप्ने अर्याल बताउँछन्।

रास्वपाले वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्मका पाँचवटा संरचनाअनुसार संगठन बनाउनेछ।

वडा र पालिका संगठन ११ सदस्यीय हुनेछ। जिल्ला र प्रदेश समिति भने पालिकाको संख्या अनुसार तय हुने उनले जानकारी दिए।

‘वडादेखि केन्द्रसम्म जोड्नेगरी पाँच तहका समिति बनाउँछौं, हाम्रा सबै समितिहरु कार्यकारी हुन्छन्,’ उनले भने। 

तर, प्रदेश संरचनामा रास्वपा प्रष्ट छैन। उसले यसपटकको चुनावमा प्रदेशमा कोही पनि उम्मेदवार बनाएको थिएन। 

बिना संगठन ४ मंसिरको प्रतिनिधि सभा चुनावमा होमिएको रास्वपाले पाएको सफलताले मतदातालाई टिकाउन पनि विचारसहितको संगठन बनाउन लागेको हो।

अहिले रास्वपाको देशका ६० जिल्लामा नेटवर्क रहेको र त्यसैलाई पार्टी संरचनामा बदल्न खोजिएको उपसभापति अर्यालले दाबी गरे।

‘६० जिल्लामा नेटवर्क छ, त्यसलाई रिफर्म गरेर चुनावमा स्वतःस्फूर्त सहयोग गर्ने साथीहरुलाई समेटेर समितिमा बदल्छौं,’ अर्यालले थपे, ‘चुनावमा सहयोग गरेर समितिमा नबसेकाहरुलाई पनि समेट्छौं तर सबै समिति क्लष्टर अनुसार मिलाउँछौं।’

रास्वपाले पार्टीको नीति र कार्यक्रम बनाउन छुट्टै समूहले काम गरिरहेको नेताहरु बताउँछन्।

रास्वपाको भविष्यबारेमा अनेक खालका विश्लेषण भइरहेका बेला समानुपातिकमा ११ लाख मत पाएको ऊसले अन्य राजनीतिक दलकै पथ पछ्याउन खोजेको देखिन्छ। 

रास्वपामा सभापतिले जे भन्यो त्यही मात्र कार्यान्वयन भइरहेकोले पार्टी संगठन बनाउने विषयमा सभापति लामिछानेको चाहना के छ भन्ने प्रष्ट छैन। 

केही नेताहरुका अनुसार सभापति मन्त्री बनेसँगै पार्टीको गतिविधि ठप्प भएको बताइरहेका छन्।

चुनाव लडेको पहिलो प्रयासमै राष्ट्रिय पार्टी बनेको रास्वपाले वैकल्पिक शक्ति बन्न सक्ने आधार देखिएपछि पार्टी बलियो बनाउन प्रयास हुन थालेका हुन्।

तर, सरकारमा सामेल भएको विषयले भने रास्वपाका केही नेता र सांसद असन्तुष्ट छन्।

यसपटक सरकारमा जान नहुने पक्षमा उभिएका नेताहरुको विरुद्ध सभापति आफैँ सरकारमा सहभागी भएपछि त्यसले नेताहरु असन्तुष्ट बनेका नेपालखबरसँग केही नेताले बताए।

अहिलेसम्म रास्वपाले लिने राजनीतिक लाइन के हो भन्ने पनि प्रष्ट नहुँदा संगठन विस्तारको कुरा कार्यान्वयन गर्न नसकिने नेताहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .