ad ad

राजनीति


मन्त्रालय नफुटाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड

मन्त्रालय नफुटाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०७९ बुधबार १८:३४, काठमाडौँ

सत्ताधारी सात दललाई भाग मिलाउन संघीय सरकारका मन्त्रालय फुटाउने चर्चा भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई नकारिदिएका छन्। 

नेकपा एमालेको नेतृत्वको गठबन्धनका दलहरुलाई भाग मिलाउन मन्त्रालय फुटाउने तयारी भइरहेको चर्चाबीच प्रधानमन्त्री प्रचण्ड त्यसको पक्षमा नरहेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका एकजना स्वकीय सचिव रमेश मल्लले मन्त्रालय फुटाएर २५ भन्दा माथि लैजाने कुनै योजना नरहेको बताएका छन्। 

'मन्त्रालय फुटाउन खोजिएको होइन। बाहिर आएका कुरा हल्ला मात्रै हुन्', मल्लले भने, 'मन्त्रालय फुटाउनेबारे कुनै योजना छैन। प्रधानमन्त्री नै यस कुरामा तयार हुनुहुन्न।'

वर्तमान संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारमा बढीमा २५ जना मन्त्री बनाउन पाइन्छ। तर गठबन्धन दलहरुले बढीभन्दा बढी मन्त्रालय दाबी गरिरहेका बेला प्रचण्डलाई दबाब परिरहेको छ।

अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले मात्रै सरकारमा मन्त्री पठाएका छन्।

तर सरकारलाई समर्थन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म सरकारमा मन्त्री पठाउने निर्णय गरेका छैनन्। 

अर्कातिर प्रस्ताव आएमा एकीकृत समाजवादी पनि सरकारमा जान खुट्टो उचालेर बसेको छ। उसले सरकारको नीति तथा कार्यक्रमम आएपछि सरकारमा जानेबारे निर्णय लिन सकिने जनाएको छ।

बुधबार मात्रै समाजवादी अध्यक्ष माधवकुमार नेपालले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन्। भेटमा प्रचण्डले नेपाललाई विश्वासको मत दिन भनेका छन्।

यदि जसपा सरकारमा गएमा उसलाई कम्तीमा दुई मन्त्रालय दिनुपर्ने हुन्छ। उता राप्रपाले एक उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दाबी गरेको छ। नागरिक उन्मुक्तिलाई पनि कम्तीमा एकदेखि २ मन्त्रालय दिनुपर्ने हुन सक्छ।

अहिले प्रधानमन्त्रीसहित ८ सदस्यीय क्याबिनेट छ। जसमा एमालेबाट चार, माओवादी केन्द्रबाट दुई, रास्वपाबाट एक र जनमतबाट एकजना मन्त्री छन्। 

अरु १७ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डको जिम्मामा छन्। गठबन्धनले पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी बाँडफाँट तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .