ad ad

राजनीति


माधव नेपाललाई केपी ओलीको प्रश्न : एमाले, माओवादी वा जसपामध्ये को सँग एकता गर्न लागेको?

माधव नेपाललाई केपी ओलीको प्रश्न : एमाले, माओवादी वा जसपामध्ये को सँग एकता गर्न लागेको?

फाइल तस्बिर।


नेपालखबर
पुस २३, २०७९ शनिबार १६:३७, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भइरहेको टिप्पणी गरेका छन्। 

एकीकृत समाजवादीले एमाले, कांग्रेस र जसपासँगै वार्ता गरिरहेको भन्दै कुन खालको राजनीति गरेको? भन्दै ओलीले प्रश्न समेत गरेका छन्। 

शनिबारबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको पार्टीका सांसदहरुलाई अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको समेत बताए। 

‘हिजो कमीकमजोरी गरेका साथीहरुले पनि अब त्यो कुरालाई दोहोर्‍याउने छैनन्। अवश्य नै। यसले उहाँहरुलाई पनि फाईदा भएन। माओवादीले कांग्रेस बोकेर के भयो, ३६ सिट जितेको थियो, १८ मा झर्‍यो। २३ सिट जितेको कांग्रेसलाई ५७ पुर्‍याई दियो। फाइदा के भयो?,’ ओलीले प्रश्न गर्दै भने, ‘कांग्रेसले दिने त केही होइन रहेछ। हामीबाट छुटेर गएकाहरु टर्च बालेर खोज्नुपर्छ भन्नेहरु राष्ट्रिय पार्टीको हैसियतमा छैनन्। बुझ्न पर्‍यो नि अब त। अब जुरो हल्लाएर काम छैन।’

ओलीले नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसेकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

‘त्यसकारण जुरो हल्लाउने, सिंगौरी खेल्ने होइन, सुरुसूरु देश र जनताको निम्ति काम गरौं । हाम्रो आग्रह सबैसँग छ। देशका लागि काम गरौन। हिजोअस्ती पोलिटव्यूरो स्थायी कमिटी बैठक एस भन्ने पार्टीको बस्यो। पहिलेको यो परिवर्तन ठिक छ। देश र जनताको पक्षमा यो परिवर्तन भएको छ । यो अहिलेको नयाँ सरकार ठिक छ भन्ने पनि फैसला गर्न सकेन। एमालेसँग एकता गर्छ पनि भन्छ पाए,’ ओलीले भने, ‘पाए माओवादी केन्द्रसँग गर्छु भन्छ। जसपासँग पनि वार्ता गरिरहेको छ। जसपा र एमालेलाई उस्तै–उस्तै देख्छ। जसपा भएपनि यो त अचम्मै भो क्या। जसपासँग पनि एकताको वार्ता, एमालेसँग पनि एकताको वार्ता भनेपनि कस्तो वार्ता हो त्यो। पाए कांग्रेससँग पनि लाग्ने, यता पनि लाग्ने। कस्तो वार्ता हो यो?’

मोहन विक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चाको बेहाल अवस्था रहेको प्रतिक्रिया समेत ओलीले दिए। 

‘कस्तो राजनीति हो, कस्तो दृष्टिकोण हो? कस्तो नीति हो? पुग्न कहाँ खोज्या? राजनीति छ कि छैन ? श्वार्थ मात्रै हो कि एकछिनको, राजनीति छ त्यहाँ? कि सिद्धान्त पनि छ। नारायणमानजी प्रतिनिधिसभामा उहाँको पार्टीको संख्या एक्लै छ। तर उहाँहरु आफ्नो अडान, आफ्नो विचार त राख्नु हुन्छ। उहाँहरुले कांग्रेसका समर्थन कहिल्यै पनि गर्नु भएन त। त्यति त बुझ्छन नि’ ओलीले भने, ‘मोहनविक्रम सिंहको पार्टी विचारा त्यसको बेहाल छ। नीति, सिद्धान्त केही छैन। हामीले अलिकति मानसम्मान केही ग¥यौं। भरे त  फुत्ते उफ्रेर काँग्रेसको जयजयकार गर्दै हिँडीराखेका छन। काँग्रेसलाई भोट हाल्न कुँदिराखेका छन। त्यसकारण यो राजनीति नभएको राजनीति हामी गर्दैनौं। गन्तव्य नभएको राजनीति हामी गर्दैनौं। उद्देश्य नभएको राजनीति हामी गर्दैनौं। कता जाने भनेर हामी राजनीति गर्छौ। त्यसकारण हामीले आफूलाई चुस्तदुरुस्त राख्नु पर्दछ।’

अध्यक्ष ओलीले उद्देश्य नभएको राजनीति आफ्नो पार्टीले नगर्ने भन्दै चुस्त भएर अघि बढन पनि पार्टीका सांसदहरुलाई सचेत गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .