निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ का लागि आगामी वैशाख १० गते उपनिर्वाचन मिति घोषणा गरेसँगै नेपाली कांग्रेसले तयारी थालेको छ।
आयोगले आगामी वैशाख १० गते उपनिर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेस चितवन उपनिर्वाचनको तयारीमा जुटेको हो।
आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी वर्षको वैशाख १० गते आइतबार चितवन–२ मा उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको थियो।
आयोगले स्वीकृत गरेको उपनिर्वाचनसम्बन्धी कार्यक्रमअनुसार फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ।
आयोगले उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारको मनोनयन दर्ता, चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २३ गते उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका तय गरेको छ।
आयोगले तालिका सार्वजनिक गरेसँगै कांग्रेस चितवनले सोमबार निर्वाचनको तयारीका लागि जिल्ला कार्यसमिति बैठक बोलाएको छ।
जिल्ला सभापति राजेश्वर खनालले उपनिर्वाचनको तयारीका लागि बैठक बोलाइएको जानकारी दिए।
उनले बैठकमा आगामी वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनबारे छलफल गरिने पनि बताए।
सभापति खनालले उपनिर्वाचनका लागि सहमति, सहकार्यबाट उम्मेदवार चयन गर्ने र एकतावद्ध भएर अघि बढ्ने निर्णय बैठकबाट गरिने पनि जानकारी दिए।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मतले दोस्रो भएका थिए।
लामिछानेले सर्वोच्च अदालतबाट नागरिकतासम्बन्धी मुद्दामा खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी वैशाख १० मा उपनिर्वाचन हुन लागेको छ।
Shares
प्रतिक्रिया