ad ad

राजनीति


झापामै हुँदा पनि दुर्गा प्रसाईको निम्तो किन स्वीकारेनन् ओलीले?

केही दिनअघि भनेका थिए : हजुरबालाई भनेको छु, आउनु हुन्छ
झापामै हुँदा पनि दुर्गा प्रसाईको निम्तो किन स्वीकारेनन् ओलीले?

नेपालखबर
फागुन १, २०७९ सोमबार १७:१७, काठमाडौँ

बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाई नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन्। 

चितवनमा गत वर्ष भएको दशौँ महाधिवेशनपछि प्रसाईलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

उनलाई केन्द्रीय सदस्यसँगै ओलीले मोतीलाल दुगड प्रमुख रहेको उद्योग विभागको उपप्रमुखको जिम्मेवारीसमेत दिएका थिए। 

गत मंसिर ४ गते भएको निर्वाचनअघिसम्म प्रसाई झापाबाट काठमाडौं ओर्लिँदा सिधै ओलीनिवास बालकोट पुग्थे।

बालकोटमा हुने हरेक कार्यक्रममा प्रसाई प्रायजसो ओलीनजिक नै रहन्थे। तर झापा ३ बाट प्रतिनिधिसभामा उठ्ने घोषणा गरेका प्रसाईलाई ओलीले टिकट दिएनन्।

त्यसो त चितवनमा भएको एमाले महाधिवेशनमा पनि ओलीले केन्द्रीय सदस्य नबनाएपछि प्रसाई हजुरबाले पत्याएनन् भन्दै बन्द सत्रस्थल नै छाडेर हिँडेका थिए।

मंसिर ४ को चुनावअगाडि झापा ३ मा एमालेको साथ पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचार गरिरहँदा प्रसाई भने कांग्रेस नेता कृष्ण सिटौलासँगको संवादमा थिए।

एमालेले साथ दिएका राप्रपा अध्यक्ष लिङ्देनलाई नसघाइ उनी सिटौलाको पक्षमा माहोल बनाउन लागि परेका थिए। नाताले भाञ्जा-मामा प्रसाई र सिटौलाबीच भित्रभित्रै सहकार्य भएको चर्चा पनि थियो। त्यसो त प्रसाईले त्यसअघि झापा ३ मा आफू उठ्ने भन्दै सिटौलालाई ठाउँ खाली गरिदिन पनि भनेका थिए। 

तर आफूले मामा सिटौलालाई हट्न भने पनि एमालेले लिङ्देनलाई टिकट दिएको भन्दै उनी चुनावको मुखमा दुबई यात्रामा निस्किएका थिए। त्यसबेलादेखि नै ओलीसँग दूरी बढाएका प्रसाई पछिल्लो समय पूर्वराज परिवारसँग नजिकिएका छन्। 

व्यापारको मामिलामा चतुर मानिने प्रसाई व्यापारिक पृष्ठभूमिकै पूर्वराजा शाहसँग सम्बन्ध बढाउँदै आफ्नो अभियानमै पनि जोड्न सफल भए।

यसअघि पूर्वराजा शाह दमकस्थित हिमालय चिया बगानमा पुग्दा प्रसाईले पटक पटक त्यहाँ पुगेर भेटेका थिए। ज्ञानेन्द्रदेखि पारससँग समेत पटक पटक छलफल गरेका उनले सोमबार काकाडभिट्टामा आयोजित महाअभियानमा उनै बाबुछोरालाई ल्याउन सफल भए। 

एमालेसँग दूरी बढाएका प्रसाई पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’मा लागेका छन्। त्यही अभियानको प्रसाईले पूर्वराजा शाहबाट उद्घाटन गराउन सफल भए।

यो अभियानको एउटा नारा भनेको संघीयता खारेजीसमेत हो। आफूलाई धार्मिक व्यक्तिका रुपमा प्रस्तुत गर्ने प्रसाईले आफ्नो कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस र पूर्वअधिकारजकुमारी प्रेरणा शाहलाई एकै मञ्चमा ल्याउन सफल भए।

उनले आफ्नो यो महाअभियानका लागि पूर्वराज परिवारसँगै दलका नेताहरुलाई पनि निम्ता दिएका थिए। प्रसाईले हजुरबा भनेर सम्बोधन गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्ता दिएका थिए।

तर झापामै भएर पनि आफ्नै दलका नेताले थालेको कार्यक्रममा ओली सहभागी हुन गएनन्। कुनै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट प्रसाईलाई तत्कालीन नेकपा विभाजनको समयदेखि ओलीले आफ्नो पकेटमा ल्याएका थिए।

तर, मंसिरको निर्वाचनले प्रसाई र ओलीबीच पनि मंसिरको निर्वाचनयता सम्बन्ध बिग्रिएको छ। पछिल्लो समय प्रसाई पूर्वराजपरिवारसँग नजिकिए पनि एमालेले उनलाई जिम्मेवारीबाट हटाइसकेको छैन। उनी अझै केन्द्रीय सदस्य र उद्योग विभाग उपप्रमुखमा कायमै छन्। 

सोमबार काकडभिट्टाको मेची पुलमा पू्र्वराजपरिवार जुटाएर प्रसाईको संघीयताविरोधी अभियान सुरु भइरहँदा एमाले अध्यक्ष ओली पनि झापामै थिए।

आफ्नै पार्टीको नेताले तामझामसहित अभियान थाल्दै गर्दा ओली झापाकै शिवसताक्षी नगरपालिका–८, झिलझिलेस्थित वाटर किङ्गडम पार्क एण्ड रिसोर्टमा त्यहाँस्थित सन्थाल समुदायसँग फोटो खिचाइरहेका थिए। 

एमालेका केन्द्रीय सदस्य तथा उद्योग विभाग उपप्रमुख प्रसाईले आफ्नो कार्यक्रममा आउन हजुरबासमेत रहेका ओलीलाई निम्तो नै दिएको बताएका थिए। 

तर झापामै रहेका ओली उक्त कार्यक्रममा सहभागी नभएर चन्द्रप्रसाद घिमिरेद्वारा लिखित श्रीमद भागवत महापुराण पुस्तक लोकार्पण कार्यक्रममा सोमबार व्यस्त भए। उनी त्यसपछि भद्रपुर विमानस्थल हुँदै काठमाडौं फर्किसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .