उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपतिको भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ।
उपराष्ट्रपतिको कार्यालय आज (बुधबार)बाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो।
उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर गरेर बुधबारबाट कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ। मन्त्रिपरिषद्ले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत संभार सुरु गरिएको थियो।
उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भई सके पनि मर्मत संभारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा बुधबार मात्रै स्थानान्तरण भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ।
उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो। उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो। अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको छ।
प्रतिक्रिया