नेपाल घुम्न आउनेमध्ये झण्डै ६० प्रतिशत पर्यटक पोखरा आउँछन्। गण्डकी प्रदेशमा रहेको अन्नपूर्ण चक्रीय पदयात्रा मार्ग, उपल्लो मुस्ताङ तथा पोखरा पनि पर्यटकका रोजाइका गन्तव्य हुन्।
तर, पोखरामा पर्यटकको बसाई भने साढे २ दिनको हाराहारीमा मात्रै छ। यस्तोमा गण्डकी प्रदेशमा बुधबार नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरियो। अघिल्लो अंग्रेजी वर्षलाई आन्तरिक पर्यटन वर्ष घोषणा गरे पनि अपेक्षित सफलता हात नलागेको बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने नेपाल भ्रमण वर्ष २०२० को सफलतासँगै गण्डकी प्रदेशको सफलता जोडिएको बताए।
प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र भएको र सन् २०१९ देखि २०२२ सम्मलाई प्रदेशले विभिन्न पर्यटन भ्रमण बर्षको रुपमा मनाउन गैरहेको सन्दर्भमा २०२० को नेपाल भ्रमण वर्ष सफल हुँदा प्रदेशले समेत धेरै लाभ लिन सक्ने मुख्यमन्त्री गुरुङको भनाई थियो। यसअघि गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा गर्दै ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
सरकारको नीति तथा कार्यक्रममा समेटिएको आन्तरिक पर्यटन वर्षको उदेश्य थियो,‘गण्डकीमा ५ लाख पर्यटक भित्र्याउने।’ पर्यटनमन्त्री विकास लम्सालले १५ लाख पर्यटक भित्रिने ठोकुवा पनि गरे। तर, सन् २०१९ सकिँदासम्म कति पर्यटक भित्रिए भन्ने तथ्याङ्क सरकारसँग छैन।
महंत्वाकांक्षी घोषणा गरेको ६ महिनापछि मात्रै पर्यटन वर्ष मूल समारोह समिति गठन गरियो। गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा गठित समितिले के काम गर्यो भन्ने निजी क्षेत्रका व्यवसायीले चालै पाएनन्।
२०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको भ्रमण वर्ष मनाउने घोषणा घोषणामै सीमित रह्यो। भ्रमण वर्ष सकिन ३ महिना बाँकी हुँदा मन्त्री लम्सालकै नेतृत्वमा देशभित्र ‘सेल्स मिसन’ चलाइयो। सो अभियानअन्तर्गत प्रदेश ५ को मणिग्राम, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंसम्मको भ्रमण गराइयो।
प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७ मा प्रदेशमातहत रहेका कर्मचारीलाई आन्तरिक भ्रमणका लागि बिदा दिने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेन। ३ सयवटा होमस्टेलाई अनुदान दिने नीति अनुसार २ सय ७३ वटा होमस्टेलाई पैसा बाँडियो। प्रदेशका ११ वटै जिल्लामा १० वटा पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलको फोटो प्रदर्शनी, होमस्टेको प्रवद्र्धनलगायत गतिविधि गरिएको बताइए पनि ती पर्याप्त भएनन्।
सरकारले १ सय १० पर्यटकीय गन्तव्यका लागि १८ करोड रुपैयाँ विनियोजन गर्दै होमस्टेका लागि २५ करोड बाँढे पनि त्यसले कुनै लाभ दिएन। पोखरामा २४ सै घण्टा खुल्ने ‘इन्जोय जोन’ र वेश्यावृत्तिलाई कानूनी मान्यता दिने चर्चा चलाउन मुख्यमन्त्री र मन्त्री पछि परेनन्।
गण्डकी प्रदेशको समृद्धिका आधार पर्यटन, कृषि र उर्जा भएको ठोकुवा गरि ल्याइएको भ्रमण वर्ष ‘बजेट सक्ने’ असफल कार्यक्रममा दरिन पुग्यो। पर्याप्त तयारी बिना कार्यक्रम घोषणा गरिएकोले भ्रमण वर्ष नारामै सीमित भएको हो।
नेचर, कल्चर र एडभेन्चर नै गण्डकी प्रदेशको पर्यटनको आधार भएको भाषण धेरै गरियो तर काम भने सोचेजस्तो हुनै सकेन। निजी क्षेत्रलाई साथ लिन नसकेको, सरकार आफै प्रचार प्रसारमा लागेकाले पनि भ्रमण वर्ष सफल हुन नसकेको निजी क्षेत्रको ठम्याइ रहेको छ। ‘सरकारका मन्त्री आफै प्रचारमा निस्के, यो काम त निजी क्षेत्रलाई पो दिनुपर्थ्याे’, एक व्यवसायीले भने,‘हल्ला गर्ने तर काम नगर्ने प्रवृत्ति यहाँ पनि देखियो।’
प्रतिक्रिया