प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गतेदेखि सुरु भएको नेकपा एमालेसँगको सत्ता सहकार्य छोटो समयमै टुट्नुमा दुई कारण देखाएका छन्।
सोमबार संसद बैठकमा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै प्रचण्डले तत्कालीन अवस्थामा नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र राष्ट्रपतिको निर्वाचनले सहकार्य टुटेको बताएका हुन्।
उनले २०७७ र ०७८ मा दुई पटकसम्म ओलीले गरेको संसद विघटनको विषयलाई आफूले स्वीकार्न नसकेका कारण गठबन्धन भत्किएको बताएका छन्।
'संसदमा पहिलो दिन नै संसद विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो। त्यसले सिंगो देश तरंगित भयो। त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक। मुलुकमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय पनि थिएन', उनले भनेका छन्, 'दुई-दुई पटक सम्मानित सर्वोच्च अदालतले नै असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन, संविधान र लोकतन्त्रको निरन्तरता एवम् संसदको स्थायित्वमै प्रश्नचिन्ह खडा गर्यो।'
उनले लगभग सिंगो संसदको विश्वासको मत पाएको प्रधानमन्त्रीलाई त्यही संसदको विघटनको खुला पक्षपोषण ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती रहेको पनि बताएका छन्।
प्रचण्डले आफूलाई राष्ट्रिय सहमतिको प्रधानमन्त्री भन्दै तर एमालेले नै समर्थन नगरेकाले संकट आएको बताए।
'राष्ट्रिय सहमतिका लागि मेरो निरन्तर प्रयासले पनि गठबन्धनको प्रमुख दलबाट नै समर्थन पाएन। प्रधानमन्त्रीका रुपमा मैले संसदबाट लगभग राष्ट्रिय सहमतिको समर्थन पाएँ। त्यो ऐतिहासिक समर्थनप्रति कृतज्ञता जनाउन र राष्ट्रका संकटहरूको सामना गर्न पनि मैले राष्ट्रिय सहमतिमै जोड दिनुपर्ने नै थियो', उनले अगाडि भनेका छन्, 'राष्ट्रपति जस्तो सम्मानित संस्था पटकपटक राजनीतिक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको पृष्ठभूमिमा मैले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने नयाँ सुरुआत गर्न चाहेँ।'
उनले संसदको सबैभन्दा ठूलो पार्टीको हैसियतले समझदारीमै नेपाली कांग्रेसलाई राष्ट्रपति दिन भनेर नेकपा एमालेका अध्यक्षसँग अनुरोध पनि गरेको बताए।
'त्यसले राजनीतिक सन्तुलन पनि कायम हुन्छ भन्ने मेरो तर्क थियो। हो, परिणाममा त्यसो हुन सकेन', उनले भने, 'हामीले सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चुन्न सकेनौँ। तर प्रधानमन्त्रीका रुपमा मैले गरेको प्रयास र लिएको अग्रसरतामा कुनै खोट थिएन। म आज सम्मानित सदनलाई सोध्न चाहन्छु, मेरो त्यो चाहना कमजोरी थियो कि राष्ट्रप्रतिको जिम्मेवारीबोध?'
Shares
प्रतिक्रिया