ad ad

राजनीति


सभापतिको निरंकुश शैलीको विकल्प कार्यकर्ताले खोज्दैछन्ः पौडेल

सभापतिको निरंकुश शैलीको विकल्प कार्यकर्ताले खोज्दैछन्ः पौडेल

नेपालखबर
पुस १९, २०७६ शनिबार ८:३६,

पछिल्लो समय पार्टी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पार्टी सुधार गर्ने मिसनमा रहेको बताएका छन्।

शनिबार चितवन आएका नेता पौडेलले आफ्नो एकमात्र मिसन भनेको पार्टीमा व्यापक सुधार गरेर जनताको भरोसाको केन्द्र बनाउनु रहेको बताए। ‘म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने एकमात्र मिसनमा छु’, उनले भने।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सभापति शेरबहादुर देउवाले कार्यशैली निरंकुश रहेको आरोप लगाए। उनले पार्टीमा छलफल भइरहेका बेला एकलौटी गरेको निर्णय आफूहरुलाई स्वीकार्य नभएको समेत प्रष्ट पारे। ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुंगो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ’, वरिष्ठ नेता पौडेलले भने। उनले पुस ११ गते गरिएको निर्णय सच्याउन समेत माग गरे।

 नेता पौडेलले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाए। पौडेल समूहको बहिष्कारबीच कांग्रेस संस्थापन पक्षले महाधिवेशनको मिति तोक्ने, तरुण दलको म्याद थप्ने र पार्टीमा विभागको संख्या बढाउने निर्णय गरेको थियो। संस्थापन पक्षले एकलौटी निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूह र अर्का नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह त्यसको विपक्षमा उभिएका छन्।

नेता पौडेलल पार्टीभित्र समस्या रहेको भन्दै सामान्य वादविवाद जीवन्त पार्टीमा भइरहने बताए। उनले पार्टीभित्र विवाद सामान्य भए पनि एकलौटी निर्णय गर्ने र पेलेर जाने भन्ने कुराले पार्टीकाे हित नगर्ने  बताए। उनले पार्टीभित्रका समस्या समधानका लागि आफूले ९ बुँदे एजेन्डा प्रस्तुत गरे पनि छलफल नै नगरी संस्थापन पक्षले एकलौटी निर्णय गरेको आरोप लगाए।

‘पार्टीमा केही समस्या छन्’, वरिष्ठ नेता पौडेलले भने, ‘समाधानका लागि मैले नौबुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ, त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो।’ उनले कांग्रेस कार्यकर्ताअरु अहिलेको नेतृत्वको विकल्प खोजीहरहेको समेत दावी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .