नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर नागरिक चिन्ता सम्बोधनका लागि अगाडि बढ्नुको विकल्प नभएको बताएको छ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सबै एक ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प नभएको बताए।
‘अब हामी ढिलो नगरी जनअपेक्षा अनुसार संसद्, सरकार, प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने।
संघीयताप्रति चुलिएको वितृष्णा राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो भएको कोइरालाको भनाइ थियो।
‘हाम्रा आफ्नै विगतका कमी–कमजोरीले संघीयता, प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ,’ कोइरालाले भने, ‘यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो भन्ने मलाई लाग्छ।’
सरकारका सामु चुनौतीका चाङ भए पनि नागरिकलाई भरोसा र विश्वास लिएर अगाडि बढ्दा अवसरका अपार सम्भावनाहरु रहेको उनको भनाइ थियो।
‘सरकारसामु चुनौतीका चाङहरु छन्,’ कोइरालाले भने, ‘तर, नागरिकलाई भरोसा र विश्वास लिएर अगाडि बढ्दा अवसरका अपार सम्भावनाहरु पनि छन्।’
Shares
प्रतिक्रिया