ad ad

राजनीति


कांग्रेसले ममाथि गरेको कारबाही फुकुवा हास्यास्पद : गोविन्दराज जोशी

कांग्रेसले ममाथि गरेको कारबाही फुकुवा हास्यास्पद : गोविन्दराज जोशी

नेपालखबर
चैत १९, २०७९ आइतबार १७:१५, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफूमाथिको कारबाही फुकवालाई हास्यास्पद भनेका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आइतबार गरेको निर्णयलाई उनले हास्यास्पद भनेका हुन्। 

‘म अहिले कांग्रेसको साधारण सदस्य पनि छैन। कुरै नगरी मेरो बारेमा निर्णय गर्नु वास्तवमा हास्यास्पद भएन र भन्या?,’ जोशीले प्रश्न गर्दै भने, ‘मेरो बारेमा अर्को पार्टीले निर्णय गर्ने हो भने एमाले माओवादीमा विलय भयो भन्दिए भयो।’

उनले तनहुँमा समस्या रहेको र समस्या निराकरणका लागि समग्रतामा समाधान खोज्नुपर्ने पनि जिकिर गरे।

‘तनहुँमा समस्या छ। समाधान गर्ने हो भने समग्रतामा केन्द्रदेखि वडासम्म समाधान खोज्नु पर्छ,’ जोशीले नेपालखबरसँग भने, ‘नमिल्ने भन्ने कुरा होइन। मिल्नलाई समग्रतामा समाधान खोज्नु पर्यो।’ 

उनले आइतबार तनहुँमा आफ्नो समूहको भेला सम्पन्न भएको र भेलाले उपनिर्वाचनमा उम्मेदवार खडा नगर्ने निर्णय गरेको समेत बताए।

‘आफ्नै प्रोग्राममा तनहुँ आएको हुँ। स्वतन्त्रको भेला आयोजना गरेको थिएँ,’ जोशीले भने, ‘भेलाले उम्मेदवार नउठाउने निर्णय गरेको छ। उपचुनावमा कतैतिर नलागी चुपचाप बस्छौँ। उचित समयमा उचित निर्णय गर्छौँ।’

तर, कांग्रेस तनहुँले जोशी सभापति शेरबहादुर देउवासँग छलफल गर्न काठमाडौं आउन लागेका दाबी गरेको छ। कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले उनी छलफलका लागि काठमाडौं आउन लागेको जानकारी दिए। 

‘उहाँ (जोशी) का केही शर्तहरु छन्। जुन जिल्ला तहबाट निर्णय गर्न सकिने अवस्थाका छैनन्। केन्द्रले उहाँसँग छलफल गरेर टुंगो लगाउँछ,’ सभापति आलेले नेपालखबरसँग भने, ‘सायद उहाँ आजै काठमाडौं आउनुहुन्छ। आज औपचारिक बैठकबाट उहाँ माथिको कारबाही फुकुवा भएको छ। उहाँले राखेको विषयका बारेमा केन्द्रले छलफल गरिरहेको छ।’ 

सभापति आलेले पूर्वसहमहामन्त्री जोशीले राखेको मागका बारेमा भने केही खुलाएनन्। तर, उनले आफूसहित आफूसँग रहेका नेता–कार्यकर्ताहरुको जोशीले सम्मानजनक ‘सेटलमेन्ट’ (व्यवस्थापन) खोजेको संकेत भने गरे।

गृह र शिक्षा, जलस्रोत, खेलकूदलगायत मन्त्री रहिसकेका जोशीले आफू अहिले काठमाडौँ फर्किरहेको प्रतिक्रिया दिएका छन्। ‘म अहिले काठमाडौँ फर्किदै छु,’ उनले भने, ‘बाटोमा छु।’

यसैबीच उनले विज्ञप्ति जारी गरेर निर्वाचनको मुखमा कांग्रेसले कारबाही फुकवा गरेर भ्रम छरेको बताएका छन्।

‘१० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो यो सरासर गलत हो,’ उनले भनेका छन्, ‘यसप्रति मेरो घोर आपत्ति छ। यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरि वार्ताको प्रयास गर्दा पनि पार्टीले वेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .