राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले आफूले २ करोड रुपैयाँ मागेको भनेर सार्वजनिक अडिओको आवाज आफ्नो नभएको दाबी गरेका छन्।
सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग माग्दै गरेको अडिओ आइतबार सार्वजनिक भएको थियो। जसमा ढाकाकुमार श्रेष्ठले आफ्ना सभापति रवि लामिछानेका मान्छेले मन्त्री बन्ने भए २ करोड बुझाउन भनेको र त्यो पैसाको व्यवस्था गरिदिन प्रसाईंसँग अनुरोध गरेका छन्।
तर आफ्नो भनेर प्रसारित त्यो आवाज आफ्नो नभएको दाबी सांसद श्रेष्ठले गरेका हुन्।
श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘ढाकाकुमार श्रेष्ठ र अर्को एकजना व्यक्तिबीच फोन संवाद गरेको र सो संवादमा बोलेका अभिव्यक्तिहरूमा डा. ढाकाकुमार श्रेष्ठ नभएको र सो आवाज सम्पादन (इडिट) गरी नियोजित रूपमा डा. ढाकाकुमार श्रेष्ठको राजनैतिक भविष्य-लक्षित गरी गरिएको षडयन्त्र हो।’
उक्त अडिओमा भनिएको जस्तो आफूलाई मन्त्री बनाउने कुरा पार्टीमा नउठेको उल्लेख गर्दै योजनाबद्ध ढंगले आफ्नो राजनीतिक भविष्य समाप्त पार्न केही समूह हात धोएर लागेको दाबी सांसद श्रेष्ठले गरेका छन्।
‘तसर्थ सो भ्वाइस राख्ने मिडियाप्रति विद्युतीय कारोबार ऐन २०६३ अनुसार कडाभन्दा कडा कारबाहीको प्रक्रियामा अगाडि बढ्ने जानकारी गराउँदै सम्पूर्ण आफन्त, साथीभाइ र शुभचिन्तकहरूमा मा. डा. ढाकाकुमार श्रेष्ठ एक निःस्वार्थ, इमान्दार, कर्मठ व्यक्ति रहनुभएकोले कपोकल्पित र भ्रामक कुराको पछि नपरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ’, विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘छिटोभन्दा छिटो सत्यतथ्य छानबिन गरी सत्य कुरा बाहिर ल्याउने छौँ।’
Shares
प्रतिक्रिया