सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन्।
संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेस सहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्याए।
मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे।
महामन्त्री थापाले भने, ‘अब कसैलाई दोष दिएर पाईंदैन। अब भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्व राजालाई भनेर पनि पाईन्न। अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाईन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नु पर्छ।’
उनले ५ वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए।
उनले भने, ‘अबको पाँच वर्ष पछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली कांग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त। जिम्मा हामीले लिने। संघको सरकार हामीले चलाउने। ५ वर्ष देशको सरकार कसले चलाउने? कांग्रेसले चलाउने। प्रदेश र स्थानीय सरकार हामीले चलाउने। अब कसैलाई दोष पन्छाएर पाईन्न। परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ। त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौं।’
महामन्त्री थापाले शिक्षकहरुको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरे। शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उनको भनाई थियो।
महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गरे।
Shares
प्रतिक्रिया