राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा देखिएको भ्रष्टाचार र मोलमोलाइका काण्डमा जोडिने जोकसैलाई कारबाही गर्ने बताएका छन्।
चितवन क्षेत्र नम्बर २ अन्तर्गत कालिका-४ को सहिद स्मृति बहुमुखी क्याम्पस चौरमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
'बोरामा रहेका केही आलु बिग्रिन सक्छन्, ती बेलैमा छुट्टिएको राम्रो', उनले भने, 'निर्वाचनका मुखमा यस्ता काण्ड आउनु राम्रै हो। यस्ता अडियो अझै छन् भने दिए हुन्छ। ७२ घण्टामा कारबाही गर्ने सभापति यहीँ छ।'
उनले भ्रष्टाचारका काण्डमा आफ्नो संलग्नता भए पनि कारबाही भोग्न तयार रहेको बताए। 'मेरो संलग्नता छ भने म हाँसी हाँसी हतकडी लगाउन सक्छु। प्रत्येक दिन काण्ड ल्याउनुहोला म एक जना रहेसम्म कारबाही गर्छु', उनले भने, 'पाँच महिनामै परेको बिपत्तिका कारण तपाईंहरुले हात नछाडिदिनुस्। मलाई पाँच वर्षका लागि मत दिएको हो तपाईंहरुले, यस पटक पनि साथ दिनुस्।'
उनले रास्वपा भ्रष्टाचारका काण्ड आउँदा ङिच्च दाँत देखाएर नहिँड्ने पनि दाबी गरे। 'हाम्रो पार्टी भ्रष्टाचारका काण्ड आउँदा पनि ङिच्च दाँत देखाएर हिँड्दैन। हेरिरहनुस् अबको २० घण्टामा कारबाही हुन्छ', उनले दुर्गा प्रसाईतिर लक्षित गर्दै भने, 'तीन तीन महिनासम्म त्यो अडियो किन लुकाएर राख्नु भयो? दुर्गा प्रसाईजी यस्ता कयौँ बेथिति छन्। हाम्रो पार्टीमा तपाईंले भनेको कुरा पुष्टि भएमा कारबाही भोग्न तयार छु।'
Shares
प्रतिक्रिया