ad ad

राजनीति


कम्युनिष्टहरु फेरि मिल्नु पर्छ, नेकपातिरै फर्किनु पर्छ : प्रचण्ड

कम्युनिष्टहरु फेरि मिल्नु पर्छ, नेकपातिरै फर्किनु पर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर बोल्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख १०, २०८० आइतबार १६:३४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पुनर्जीवित गराउन लागिपर्ने बताएका छन्।

केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई पुनर्जीवित गराउन अपिल गर्ने पनि उनले योजना सार्वजनिक गरे। 

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली जनता र लाखौँ कम्युनिष्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्न सकिने तर्कसमेत गरे।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले नेताहरुको सनकको भरमा त्यो एकता टिक्न नसकेको भन्दै अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढनुपर्ने बताए। 

प्रधानमन्त्री दाहालले नेकपालाई पुनस्थापित गर्न विनापूर्वाग्रह छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। 

‘फेरि पनि कम्युनिष्ट आन्दोलन, वामपन्थी आन्दोलनलाई एकतावद्ध गर्ने आवश्यक्ता र जिम्मेवारी पूरा भयो भन्ने होइन। फेरि पनि हामीले सही विचारको आधारमा, सही नीतिको आधारमा कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु पर्दछ', उनले भने, 'हामी त्यही प्रक्रियामा छौं। जो कम्युनिष्ट आन्दोलनको एकता, जनतावादी केन्द्रीयताको सिद्धान्तको पक्षमा छैनन्, उनीहरु अहिले पनि कम्युनिष्ट पार्टी एकताको पक्षमा छैनन्। हामी कम्युनिष्ट पार्टी एकताको पक्षमा छौँ।'

प्रचण्डले राष्ट्र र जनताको आवश्यक्ता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने पक्षमा रहेको बताए। 

'अहिले कमरेड माधवकुमार नेपाललगायत नेताहरुसँग छलफल भइरहेको छ। हामी नेकपातिर फर्कनु पर्दछ। कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई चावी हो भन्ने गरिन्छ। नेतृत्वले गलत विचार र प्रवृत्ति अंगिकार गर्‍यो भने धेरै ठूलो क्षति हुन्छ। ठूलो प्रतिक्रान्ति हुन्छ। त्यो हामीले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र क्रान्तिमा पनि देख्यौँ', दाहालले भने, 'हामीले आफ्नै आँखाअगाडि पनि देख्यौँ ०७४ को निर्वाचन। एउटा ठूलो अग्रगामी कदम थियो कम्युनिष्टले चालेको। त्यो प्रस्ताव गर्ने हामी नै थियौँ। मैले धेरै चोटीभनेको छु–त्यसको पहिलो प्रस्ताव औपचारिक रुपमा मैले नै राखेको थिएँ–एकता गरौं, चुनाव मिलेर लडौँ।'

देश र जनताले अहिले कम्युनिष्ट एकता खोजेको पनि उनले बताए। 'राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकताका लागि कम्युनिष्टहरु एक हुन जरुरी छ। जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ', उनले अगाडि भने, 'लोकतन्त्रको सुदृढीकरणका निम्ति, गणतन्त्रलाई मजबुत गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ। हामीले त्यो पहलकदमी लियौँ भने असाधारण र महान काम हुनेछ।' 

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा अब एकतातर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो। 'अहिले पनि यो देशका एकता र सुदृढीकरणको निम्ति हामी एक हुन जरुरी छ। आउनुहोस् बसौँ सँगै। बिनाआग्रह, पूर्वाग्रह समीक्षा गरौँ। विचारधारात्मक रुपमा समीक्षा गरौँ।आत्मसमीक्षा गरौँ', उनले भने, 'राष्ट्रको हितमा एकताको एउटा नयाँ पहल सुरु गरौँ। त्यसो गरेर मात्रै हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुन सक्नेछौं। हामी अहिले केही कम्युनिष्ट पार्टीहरु, कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौँ।' 

उनले कम्युनिष्टहरु फेरि एकतावद्ध हुन सक्ने सन्देश दिनु पर्ने पनि बताए। 'छलफलको क्रम त्यहीबाट सुरु गरौं। विचारधारा, राजनीतिक छलफल गरौं। अनि फेरि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने एउटा नयाँ संकल्प गरौं भन्नेमा हामी छौँ। म के घोषणा गर्न सक्छु भने–केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ। त्यहीँबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुवीकरणतिर जानेछौँ', उनले भने, 'त्यो मोर्चाले नेकपातिर फर्कन सबैसबैलाई अपील गर्नेछ। नेकपा नेताहरुको सनकका कारण दुर्घटनामा परे पनि जनता र आम लाखौं कार्यकर्ताहरुले अनुमोदन गरेको एकता हो। त्यो एकता हाम्रो प्रस्तावको एकता हो। त्यसकारण हामी सबै त्यो एकतालाई पुनर्जीवित गर्न चाहन्छौँ।'

उनले अब कोही पनि आग्रहमा जान नहुने पनि बताएका छन्। 'हामी कोही पनि आग्रह पूर्वाग्रहमा नजाऊँ। देशको आवश्यक्तालाई हेरौ। जनताको चाहना हेरौँ। अहिले विचार, राजनीति, मूल्य, मान्यताभन्दा बाहिरबाट अराजकता सृजना गर्ने जो कोसिस भइराखेको छ', उनले भने, 'हजारौँको बलिदान र दशकौँको संघर्षबाट नेपाली जनताले उपलब्धिहरुमाथि प्रहार गर्ने जो दुस्साहस भएको छ। त्यसको प्रतिकार गर्ने पनि वामपन्थी, कम्युनिष्ट देशभक्त शक्तिहरुले नै त्यसको प्रतिकार गर्नु पर्नेछ।’

प्रधानमन्त्री दाहालले अहिले मुलुकमा विचार, राजनीति, मूल्यमान्यता भन्दा बाहिरबाट अराजकता सृजना गर्ने कोसिस भइरहेको दोहोर्‍याउँदै त्यसलाई रोक्न पनि कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्ने अवस्था आएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .