ad ad

राजनीति


जाँदाजाँदै सूचना आयोग अध्यक्षको सुझावः सबै मन्त्रालयमा म जस्तै प्रचारमुखी सचिव राखौँ

जाँदाजाँदै सूचना आयोग अध्यक्षको सुझावः सबै मन्त्रालयमा म जस्तै प्रचारमुखी सचिव राखौँ

नेपालखबर
पुस २३, २०७६ बुधबार ११:४८,

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले जनतालाई गुमराहमा राखेर लोकतन्त्रलाई अगाडि बढाउन नसकिने भन्दै सूचनाको हकको पुर्ण प्रत्याभुतिमा प्रतिवद्ध हुन सरकारलाई सुझाव दिएका छन्।

आयोगको ५ बर्षे पदावधि सकिँदै गर्दा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारले गरेका सबै कामकारवाही पारदर्शी बनाउन पनि आग्रह गरे। सूचनाको हकका सम्बन्धमा नेपालको संविधानमा नै अपूरो व्यवस्था गरिएको दाबी गर्दै उनले ‘जस्केला’बाट नागरिकको मौलिक हकलाई कुठाराघात हुने गरि कानून बनाईएको आरोप लगाए।

उनले भने, ‘नेपालको संविधानको धारा २७ अपूरो छ। सूचनाको प्रवाहको हक त्यहाँ छैन। त्यहाँ प्रतिबन्धात्मक वाक्याशं छ तर कानून बमोजिम गोप्य राखिएको सुचना दिन बाध्य गरिने छैन भनिएको छ। पहिलो वाक्यमा सूचना पाउने हक हुनेछ भन्ने, दोश्रो वाक्यमा कानुन बमोजिम गोप्य राखिने भन्ने र नेपाल सरकारले जस्केलाबाट नागरिकको मौलिक हकलाई कुठाराघात हुनेगरी कानुनका मस्यौदा गर्न लाज नमान्ने, अप्ठ्यारो नमान्ने सरकार हुन्जेल, यस्तो संविधानको भाषा लेखिनु आपत्तीजनक छ।’

उनले सबै मन्त्रीलाई आफ्ना कामकारवाहीमा प्रचारमुखी हुन र सबै मन्त्रालयमा प्रचारमुखी सचिव सहसचिव नियुक्त गरेर देखाउन चुनौति दिए। प्रमुख आयुक्तको रुपमा ५ वर्षे कार्यकाल सकिने दिन बुधबार उनले आफूलाई प्रचारमुखी सचिव भनेर टिप्पणी गर्ने गरिएको स्मरण गर्दै सबै सचिव र सहसचिवलाई प्रचारमुखी बनाएर देखाउन सरकारलाई सुझाव दिए।

उनले भने, ‘नेपालमा २२ वटा मन्त्रालय छन्। २२ वटै मन्त्रालयका मन्त्रीज्यूहरु सम्भव भएसम्म अत्याधिक प्रचारमुखी हुनुपर्छ। प्रधानमन्त्रीलाई निवेदन गर्न चाहन्छु। म सचिव हुँदा खेरी ‘हाम्रा बास्कोटा जी प्रचारमुखी थिए’ भन्छन्। अहिले सम्माननिय प्रधानमन्त्रीलाई यही फोरम मार्फत निवेदन गर्छु, यहाँले २२ वटा मन्त्रालयमा २२ जना प्रचारमुखी सचिव र सहसचिव उत्पादन गर्न सक्नुहुन्छ? सरकारले गरेका कामकारवाही मान्छेले थाहा पाएपछि टिप्पणी गर्न सक्छ। हामीले गुमराहमा राखेर लोकतन्त्रलाई अगाडि बढाउन नसक्ने कुरा निवेदन गर्न चाहन्छु।’

उनले आयोगका प्रतिवेदनमाथि छलफल नगरेर थन्क्याउने काम भएको भन्दै त्यस कार्यमा कार्यपालिका र व्यस्थापिका दोषी रहेको आरोप पनि लगाए।

उनले भने, ‘दुःखका साथ भन्नु पर्छ आजका मितिसम्म ११ वटा प्रतिवेदन हामीले प्रधानमन्त्री मार्फत सांसहरुको पिजनहोलमा हाल्यौं। राष्ट्रिय सूचना आयोगले प्रत्येक पल्ट ७ सय कितावहरु छाप्यो। माननी ज्यूले किताब पाउनुभयो। घरघरमा लानुभयो। तर त्यो किताबमाथि छलफल गर्ने चासो कसैको पनि भएन। यसमा कार्यपालिका र व्यवस्थापिका दुवै दोषी भएको कुरा बताउन चाहन्छ।’

उनले मुलुकमा संघीय व्यवस्था भएपनि राज्य सञ्चालन प्रणाली अनुसारको व्यवस्था नभएको गुनासो गरे। प्रादेशिक सूचनाको हक सम्बन्धि कानून जारी नगरिकन नै प्रदेशमा मुख्यमन्त्रीहरुले काम गरिरहनु आपत्तीजनक रहेको टिप्पणी गरे।

उनले भने, ‘राष्ट्रिय सूचना आयोगका तीन जना आयुक्तले नै काफि भईरहेको देशमा ७ वटा प्रदेशमा अर्का २१ जना ल्याउने हो भने त यो मुख्यमन्त्री भन्ने पद नै प्रादेशिक सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तले नै खाईदिन्छन् भन्ने भय मुख्यमन्त्रीमा हुनु दुर्रभाग्यको विषय हो। मुख्य मन्त्रीले प्रादेशिक सूचनाको हक सम्बन्धि कानून जारी नगरीकन आफूले गरेको काम कारवाही सार्वजनिक नगरिकनै मुख्य मन्त्री चलाईरहने सौभाग्य प्राप्त हुँदैन।’

उनले भारतमा जम्मु कस्मिर बाहेक २७ प्रदेशमा, क्यानडामा १० वटै प्रदेशमा प्रादेशिक सूचना आयोग रहेको उल्लेख गर्दै उनले प्रादेशिक सूचना आयोग गठन नगरेर जनताको सूचनाको हक कुण्ठित गर्ने काम भईरहेको आरोप लगाए। कार्यक्रममा ५ वर्षे कार्यकालमा भएका कामकारवाहीको बारेमा जानकारी पनि गराईएको थियो। प्रमुख आयुक्त बास्कोटाको कार्यकालमा आयोगले विभिन्न विषय र क्षेत्रका गरी ५ हजार ७ सय ९ वटा आदेश जारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .