ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन्।
मन्त्री बस्नेतले सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित भएको पनि बताए।
जल तथा मौसम विज्ञान विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताका अपेक्षाहरू पूरा गर्नका लागि सरकारको हालसम्मको अवधिलाई तयारीको अवधिको रुपमा लिनुपर्ने पनि पटकपटक दोहोर्याए।
‘यो विषय परिस्थितिको विषयमा सरकारले प्रस्तुत गर्ने नीति, कार्यक्रम र बजेट कार्यक्रममार्फत आफ्नो औचित्य सावित गर्छ शान्दार ढंगले। र, सरकार अहिले मूलतः त्यही कुरा केन्द्रित भएको छ,’ उनले भने, ‘यो सँगसँगै यसका डेलिभरीका पाटोहरु छन्। दैनिकीका विषयहरू छन्। त्यसमा थप कसरी सुधार ल्याउन सकिन्छ? त्यसको प्रभावकारिता कसरी बढाउन सकिन्छ? यसबारेमा पनि आवश्यक ध्यान दिईराखेको छ।’
मन्त्री बस्नेतले सरकारले डेलिभरीको कामलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै अनुभूति गर्न सकिने दावी पनि गरे।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटपछि जनताको अपेक्षा अनुसार सरकारले काम सुचारु गर्ने उनको भनाई थियो।
‘जनताका अपेक्षाहरु पनि धेरै छन्। यो कुरा पनि हामी बुझ्दछौं। देशको समग्र परिस्थितिका के अप्ठ्याराहरु छन्? यो विषयमा यहाँहरुले अझ धेरै बुझेकै अवस्था हो,’ उनले भने, ‘यी सबै परिस्थितिको पृष्ठभूमिमा फेरी पनि सरकारको समग्र कार्यकालका निम्ति यो अवधि एउटा तयारीकै अवधि हो। र, त्यसको कम्बिनेशन अथवा त्यसको उत्कर्ष मलाई लाग्दछ। सरकारले संसदमा प्रस्तुत गर्ने वार्षिक नीति, कार्यक्रम, वार्षिक बजेट कार्यक्रम, त्यो तयारीको उत्कर्ष हो।’
सरकारको वार्षिक नीति तथा कार्यक्रम, बार्षिक बजेट कार्यक्रममार्फत घोषणा गरिने विषयबस्तुहरुको प्रभावकारी कार्यान्वयन हुने उनले दाबी गरे।
‘सरकारले आफ्नो औचित्य सही ढंगले सावित गर्छ। अव यो सरकार बनेपछि पहिलो पटक नीति तथा कार्यक्रम, बजेट कार्यक्रम प्रस्तुत गर्दैछ,’ उनले भने, ‘अहिले सरकारको मुख्य ध्यान त्यसको तयारीमा रहेको छ। मैले यो कुरा चाही विनम्रतापूर्वक राख्न चाहन्छु।’
मन्त्री बस्नेतले मौसम पूर्वानुमानलाई भरपर्दो बनाउनका लागि सरकारले उचित ध्यान दिने पनि बताए।
Shares
प्रतिक्रिया