सत्तामा फर्किने कि प्रतिपक्षमा जाने निर्णायक बैठक बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठोस प्रस्तावको प्रतिक्षा गरिरहेको जनाएको छ।
आफूहरुले राखेको चारैवटा माग सम्बोधन गर्ने विश्वस्त आधार भए रास्वपाले तत्काल सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गर्नसक्ने महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।
‘सभापतिजी र प्रधानमन्त्रीबीच केही कुरा भइरहेको हुनसक्छ, प्रधानमन्त्रीबाट चारैवटा सर्त पूरा गर्ने ठोस प्रस्ताव आए पार्टीमा सल्लाह गरेर समर्थन कायम राख्ने निर्णय गर्छौँ,’ ढकालले नेपालखबरसँग भने, ‘गठबन्धनबाट कुनै गम्भीरता नदेखाए समर्थन फिर्ता लिएर प्रतिपक्ष बस्छौं।’
अहिले साढे ५ बजे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसुन्धरामा बस्दैछ।
बैठकमा सरकारमा जाँदाका फाइदा र प्रतिपक्षमा बस्दाका फाइदाबारे लिखित जवाफ ल्याउन सभापति रवि लामिछानेले नेताहरुलाई निर्देशन दिएका छन्।
‘नेताहरुबाट लिखित रुपमा प्रस्ताव पनि आउला, प्रतिपक्षमा बस्ने दबाब बढी छ, तर बैठकमा यसबारे विस्तृत छलफल हुन्छ,’ प्रवक्ता ढकालले थपे।
Shares
प्रतिक्रिया