राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन्। शुक्रबार साँझ पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सो कुरा बताएका हुन्।
‘हामी सरकार बनाउने र भत्काउने खेलमा लाग्दैनौं। तर खेलले कुनै रुप लियो र देशमा अस्थिरताको अवस्था आयो भने सोच्न सकिन्छ,’ सञ्चारकर्मीसँगको कुराकानीका सभापति लामिछानेले भने, ‘राजनीतिक दलले कुनै अस्थिरता हुन चाहँदैन। हामी जनताले दिएको म्यान्डेटलाई बुझेर सशक्त र रचनात्मक प्रतिपक्षी बनेर अघि बढ्छौं।’
साथै, उनले जनताको भावनालाई कदर गरेर रास्वपाल प्रतिपक्षमा बस्ने निर्णय गरेको दाबी गरे।
‘सबैभन्दा पहिलो कुरा त हामीले जनभावनाको कदर गर्नुपर्छ। यसपटकको चुनावले हामीलाई दिएको म्यान्डेट नै सशक्त प्रतिपक्षको भूमिका निर्माण गर्ने प्राप्त भएको थियो। त्यही अनुरुप हामी अघि बढ्छौं,’ लामिछानेले भने।
अब रास्वपा पूर्णतयाः संगठन निर्माणको काममा अघि बढ्ने उनले बताए। साथै, संसदमा रचनात्मक प्रतिपक्षीको भूमिका आम समाजलाई देखाउनेगरी आफूहरुले भूमिका खेल्ने पनि बताए।
‘संगठन निर्माणको प्रक्रिया अघि बढाउनु छ। रचनात्मक प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने धेरैले हेर्न चाहेका छन्। समाज र राष्ट्रिय मुद्धा कसरी राख्ने भन्ने आम मानिसले हेर्न चाहेका छन् हामीले पनि ठूलो योगदान दिन सक्छौं,’ उनले भने।
Shares
प्रतिक्रिया