ad ad

राजनीति


प्रचण्ड क्याबिनेट दसौँ पटक विस्तार, कांग्रेसका आचार्य मन्त्रीको शपथ लिँदै

प्रचण्ड क्याबिनेट दसौँ पटक विस्तार, कांग्रेसका आचार्य मन्त्रीको शपथ लिँदै

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८० आइतबार १२:२४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई मन्त्रीमा नियुक्त गरेका छन्। 

प्रधानमन्त्रीले आइतवार आचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन्। शीतल निवासका अनुसार उनलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउने भएका छन्। 

कपिलवस्तु क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित उनको शपथ दिउँसो साढे १ बजे निर्धारण गरिएको शीतल निवासले जनाएको छ। 

आचार्यलाई प्रधानमन्त्री प्रचण्डले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिने तयारी गरेका छन्। 

यादवले गत चैत १७ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका थिए। उनको मन्त्रालय एक महिना नबित्दै हेरफेर भएको हो। 

यादवलाई अब महिला मन्त्रालयबाट सरुवा गरेर खानेपानी मन्त्रालय जिम्मेवारी दिइने भएको छ। यादव डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका अध्यक्ष पनि हुन्। 

यससँगै प्रचण्डले मन्त्रिपरिषद् दसौँ पटक विस्तार गरेका छन्। यसअघि नवौँ पटक विस्तार हुँदा यही वैशाख २१ गते तीनजना कांग्रेस सांसदहरू मन्त्री बनेका थिए।  

धनराज गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूले युवा तथा खेलकुदमन्त्रालय सम्हालेका थिए। 

त्यसअघि वैशाख ३ गते कांग्रेसबाट सांसद एनपी साउदले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका थिए। 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री बनाउँदै उनको नेतृत्वमा गत चैत १७ गते सरकारमा सहभागी भएको हो।

कांग्रेसबाटै अर्थमन्त्रीमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .