ad ad

राजनीति


शरणार्थी प्रकरणले संसद तातेपछि एमालेले गर्‍यो विषयान्तर, कांग्रेस-माओवादी आक्रामक

शरणार्थी प्रकरणले संसद तातेपछि एमालेले गर्‍यो विषयान्तर, कांग्रेस-माओवादी आक्रामक

आइतबार बसेको प्रतिनिधिसभाको बैठक। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख २४, २०८० आइतबार १८:१७, काठमाडौँ

भुटानी शरणार्थीको नाममा नक्कली शरणार्थी बनाएर अमेरिका लग्ने कार्यमा रहेको राजनीतिक नेताहरुलाई कारबाही गर्न सांसदहरूले सरकारलाई दबाब दिएका छन्।

आइतबार अपरान्ह बजेटका विषयमा छलफल गर्न बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने अधिकांस सांसदहरुले भुटानी शरणार्थीका नाममा रकम कुम्ल्याउनेमाथि कारवाही गर्न माग गरे।

कांग्रेसका रामहरि खतिवडा, सुनिल शर्मा, माओवादीका माधव सापकोटा, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल लगायतका सांसदले दोषी देखिएका सबै राजनीति दललाई कारबाही माग गरे।

कांग्रेस सांसद शर्माले भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका सांसदलाई संसदमै उपस्थित गराएर बयान लिन समेत माग गरे।

नक्कली शरणार्थी बनाएर पैसा ठगेको विषयमा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको नाम मुछिएपछि उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

तर, अहिलेसम्म उनी पक्राउ परेका छैनन्। प्रहरीले उनको नाम फरार सूचीमा राखेको छ।

संसद बैठकमा बोल्दै सांसदहरूले कुनैपनि हालतमा दोषी उम्कन नहुने बताए।

तर, एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देखाउँछु भनेको पुरै फिल्म देखाउन चुनौती दिए।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गरेपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई कारबाही गर्न सरकार कुनै दबाबमा नपर्ने बताएका थिए। साथै, दोषी देखिएका सबैलाई कारबाही गर्ने पनि बताएका थिए। 

त्यसपछि शनिबारकै अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कास्टिङ मात्र आएको र पूरा फिल्म देखाइने पनि बताएका थिए।

आइतबारको संसद बैठकमा एमाले प्रमुख सचेतक गिरीले चुनौती दिँदै अहिले प्रधानमन्त्री प्रचण्डले भनेको फिल्म हेर्न आफूहरू टिकट काटेर बसेको बताए। 

‘अहिले प्रधानमन्त्रीज्युले भन्दै हिँड्नुभएको छ, यो ट्रेलर मात्र हो फिल्म त आउन बाँकी नै छ भनेर भन्दै हुनुहुन्छ। प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्न आतुर छौं,’ उनले भने, ‘तपाईंले फिल्म देखाउनुहुन्छ भनेर हामी टिकट काटेर बसेका छौं। फिल्म देखाउनुस्। हामीलाई विश्वास छ वाइडबडी र बासबारी घोटला काण्डबारे छानविन गरौं।’

जवाफमा सिन्धुपाल्चोक १ बाट निर्वाचित माओवादी सांसद माधव सापकोटाले टोपबहादुर रायमाझीलाई सार्वजनिक गरेर कारवाही गराउनमै एमालेलाई फाइदा भएको जवाफ फर्काए। 

‘टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुस्, त्यसैमा तपाईंहरुको कल्याण छ,’ उनले भने, ‘विषयलाइ विषयान्तर गर्ने, खिसिट्युरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने तपाईंहरुको शैलीले राजनीतिक चरित्र प्रस्तुत गरेन।’

‘प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहने हो भने विषयान्तर नगर्नुस्, तपाईंहरुलाई नै त्यसले नाङ्गो बनाइराखेको छ,’ उनले अघि भने।

एमालेका पोलिटव्युरो सदस्य समेत रहेका प्युठानबाट निर्वाचित सांसद सूर्य थापाले फेरि विषयान्तर गर्न खोजे। उनले कयान्टेनमेन्टमा अर्बौं भ्रष्टाचार भएको विषयमा आफूले फिल्म हेर्न चाहेको बताए। 

‘म भन्न चाहन्छु, क्यान्टोनमेन्टमा अरबौं भ्रष्टाचार भएको छ त्यसको फिल्म हेर्न चाहन्छु। म कमानसिंह लामाको करोडौं ठगी प्रकरणको बारेमा फिल्म हेर्न चाहन्छु, टिकट काटेर आएको छु, फिल्म हेर्ने व्यवस्था मिलाइयोस्,’ थापाले चुनौती दिए। 

उनले अपराधीको बारेमा सदनमा धेरै रुवाबासी नगर्न आग्रह गरे। ‘दोषिलाई उम्काउने कोसिस नगरियोस र निर्दोषलाई नफसाइयोस्,’ थापाले थपे।

सांसद प्रेम सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको बताए।

८ सय ७५ जनाबाट १५ देखि ५० लाखसम्म उठाएर अर्बौं रकम ठगी गर्ने को हुन् रु भन्ने प्रश्न उनको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .