नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई नियतवश र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन्।
प्रतितिधिसभको आजको बैठकमा आफूप्रति लक्ष्य गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूलाई त्यस प्रकरणबारे थाहासमेत नभएको दाबी गरिन्।
उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेकथरी प्रश्न उठाइएको र नक्कली मान्छे खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताइन्।
उनले आफूले कसैका बारेमा कुनै टिकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीतिक गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रुपमै दुष्प्रचार गरिएको बताइन्।
उनले भनिन्, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन रहेछ। पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाषा मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने, कुनै पनि नारी अलिकति सार्वजनिक जीवनमा आयो भने पुरुषहरूलाई असैह्य हुने परिस्थिति बनेको छ।’
उनले अगाडि भनिन्- तर पनि जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्न।
उनले अहिले चर्चामा रहेको शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता त के त्यो प्रकरणका बारेमा थाहासमेत नपाएको दाबी गरिन्। साथै उनले आफूविरुद्ध प्रचार गर्ने नेता या जो कसैलाई पनि तथ्यमा आधारित भएर बोल्न आग्रह पनि गरिन्।
उनले आफू र श्रीमान् शेरबहादुर देउवाको सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाएको बताउँदै सबै सांसदको पनि सम्पत्ति विवरण वेबसाइटमा प्रकाशन गर्न र कसको के कति सम्पत्ति छ, बढ्यो या घट्यो भन्ने बारेमा जनताले सबैले थाहा पाउने परिस्थिति बनाउन माग गरिन्। रासस
Shares
प्रतिक्रिया