नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आगामी आव २०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आव २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गरेका हुन्।
‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नको निम्ति म सुझाव दिन चाहन्छु। खोजौँ, बरु करको दायराहरुलाई वृद्धि गरौँ। सफ्ट लोनमा
वैदेशिक अनुदान लिनेकुरा अघि भियतनामको कुरा सुनाउनुभयो,’ उनले भने, ‘संसारमा प्रगति गर्ने देशहरुले अरु देशबाट सफ्ट लोनमा व्यवस्था गरेर देशलाई अगाडी बढाएको हामी पाउँछौँ। डराउनु हुँदैन।’
उनले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भएपनि बजेटको सिलिङ घटाउनु नहुने बताए।
‘वैदेशिक अनुदान ल्याउने कुरा, करको दायरा बढाउने कुरा, कतिपय अप्ठ्यारोमा परेर अल्झेका करहरुलाई, बेरुजुहरुलाई नियमन गर्नेकुरा, भ्रष्टाचारलाई न्युनिकरण गर्ने कुरा, र अर्थप्रणाीलाई सुधार्ने कुरातिर हामी गयौँ भनेदेखि एक खर्ब भन्नेकुरा ठूलो होइन,’ उनले भने, ‘मैले सुनेको गत वर्षभन्दा १ खर्बभन्दा कममा बजेट आउँदैछ, मन्त्रीज्युहरुले हामी जाँदाखेरी पैसा छैन मात्रै भन्नुहुन्छ।’
उनले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिए।
‘अर्थमन्त्रीज्युलाई मेरो अनुरोध के छ भने तपाईले आँट गर्नुस्,’ पौडेलले भने, ‘संसारभरीका सम्भावना भएका खोजौँ । नेपाल भित्रका सम्भावना पनि हामीले खोजौँ। त्यसो गरियो भने सम्भव छ।’
सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई, दुईवटा भएपनि राम्रो काम अगाडी बढाउनुपर्ने बताए।
Shares
प्रतिक्रिया