नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी मुद्दामा निर्दोष भए प्रहरीकोमा गएर प्रमाणित गर्न आह्वान गरेका छन्।
२८ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले दोषी पुष्टि भए कारबाही प्रक्रियामा सहयोग गर्ने बताए।
‘भागेर होइन, पुलिसकोमा गएर निर्दोष भएको प्रमाणित गरेर आउनुस्,’ बैठकमा ओलीको भनाइ उदृत गर्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालखबरसँग भने, ‘गलत काम भएको रहेछ भने कारबाहीको प्रक्रियामा लैजानुपर्छ कानुनलाई पालना गर्न एमालेले सघाउँछ, कसैलाई बोक्दैन।’
अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी बनाउन अन्य दलका नेताहरूको पनि संलग्नता भेटिएको बताए।
‘अन्य दलका केही नेताहरूपनि मुछिएका छन्, तर उनीहरूलाई पक्राउ पुर्जी जारी भएको छैन,’ ओलीले थपे, ‘तर हामी विधिको शासनको पक्षमा उभिएका छौँ, गतल काम गर्दैनौं, गलत गरे कानुनअनुसार भौग्छौं।’
सचिवालय बैठकले रायमाझीलाई कारबाही भने गर्न सकेन।
उनी गत वैशाख २० गतेदेखि गायब छन्। उनका छोरालाई प्रहरीले त्यही दिन बुटवलबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ।
बिचौलियाहरुले सन्दीपको नाममा चार वर्षअघि डेढ करोडको चेक काटेका थिए। टोपबहादुर गायब भएपछि एमालेलाई अन्य दलहरुले दबाब दिइरहेका छन्। एमालेमाथि रायमाझीलाई लुकाएको आरोप लागिरहेको छ।
रायमाझीलाई कारबाही गर्न ओलीलाई दबाब बढेको छ। तर एमालेले भने पर्ख र हेरको नीति लिएको छ।
Shares
प्रतिक्रिया