ad ad

राजनीति


‘तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु’ भन्ने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रण हुँदैन : सांसद शाही

‘तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु’ भन्ने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रण हुँदैन : सांसद शाही

नेपालखबर
जेठ १, २०८० सोमबार १६:३७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही भ्रष्टाचारविरुद्धको सडक आन्दोलनको विपक्षमा उभिएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलन भन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताएका हुन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ ४ गते भ्रष्टाचारविरुद्ध काठमाडौंमा आमसभा गर्दै छ। प्रमुख सचेतक शाहीले भने भ्रष्टाचारलाई न्यूनिकरण गर्न, भ्रष्टाचार गर्नेहरूको तीनपुस्ते सम्पत्ति हरण गरी आजीवन कारबास भोग्ने कानुन यही संसदबाट बन्ने हुनाले संसद आन्दोलन गर्न उपयुक्त हुने तर्क गरे। 

‘तपाईहरु साँच्चै भ्रष्टाचारको विरुद्धमा लडने हो भने पार्टी पंक्ति, दल, सिद्धान्त भन्दामाथि उठेर कानुन बनाउन तयार हुनुहुन्छ? हुनुहुन्छ भने ल म आज हेर्न चाहन्छु–हात खडा गर्नुस ल। ल गर्नुस् खडा, हुनुहुन्छ कोही?,’ शाहीले भने, ‘त्यही भएको हुनाले मैले अहिले पनि भन्न चाहन्छु–यसो नगरौं। कृपया, तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु। तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु। यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्दैन।’

उनले भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी पंक्ति, दल र सिद्वान्त भन्दामाथि उठेर कानुन बनाउने काममा एकजुट हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे।

‘भ्रष्टाचारलाई न्यूनिकरण गर्ने, भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पत्ति हरण गर्ने, आजीवन कारवास भोग्ने कानुन यही सदनबाट आजका दिनबाट पार्टी पंक्ति, सिद्धान्त नभनेर लागू गरौं,’ सांसद शाहीले अघि भने, ‘हामीलाई कानुन बनाएर कारबाही गर्न कसले रोक्छ? कसैले रोक्दैन। त्यही भएर सडक आन्दोलन भन्दा संसद आन्दोलन गरौं। संसदमा एकजुट भएर अगाडि बढौं। म यही भन्न चाहन्छु।’

प्रमुख सचेतक शाहीले त्यस अवसरमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि तयार हुने सांसदहरुले हात उठाउन पनि आग्रह गरेका थिए। 

उनले ‘तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु’ भन्ने खालको प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .