नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन्।
बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कोइरालाले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्न नहुने बताए। उनले कांग्रेसका नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिनुले पार्टीको गरिमामा आँच आएको बताए।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताए। कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने उनको मत थियो।
देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको पनि उनले बताए। उनले यो प्रकरणमा कांग्रेसका केही नेताहरुलाई फसाइएको पनि दाबी गरेका छन्।
‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर छ, झनै कांग्रेसको परिस्थिति पनि गम्भीर छ। कांग्रेसभित्र जुन घटना भइरहेका छन्, हाम्रै साथीहरु नक्कली शरणार्थीको मुद्दामा फस्नुभएको छ, फसाइएको छ, त्यसले कांग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ, यति लज्जास्पद र राष्ट्रघाती काम भएको छ देशमा, यसलाई ढाकछोप गर्नु हुँदैन, ढाकछोप गर्ने कोशिस गरे कांग्रेसको अवस्था के हुन्छ भन्न सक्दिनँ’, उनले भने, ‘अफ्ठ्यारो स्थितिमा पार्टी छ, यसले देशको अवस्था नाजुक हुन्छ, यो अन्तर्राष्ट्रियकरण भइसकेको छ, सहजै मुद्दा चलिरहेको छैन, प्रहरीलाई यत्रो तागत त्यसै आइरहेको छैन, कुनै बहानामा कसैले गलत काम गरेको भए दण्ड हुनैपर्छ। यो मुद्दा कमजोर बनाउने चिन्ता हामीलाई छ। देशको नागरिकलाई अनागरिक बनाइ मानव बेचबिखन गरेर विदेश पठाइदिने जस्तो लज्जास्पद कुरा के हुनसक्छ?’
नेता कोइरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताए। उनले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको पनि बताए।
Shares
प्रतिक्रिया