नक्कली शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग गर्दै आज (बिहीबार) काठमाडौंमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले विरोध प्रदर्शन गर्ने भएको छ।
आयोजक एकीकृत समाजवादी, केन्द्रीय मोर्चा संगठन विभागका अनुुसार विरोध कार्यक्रम आज दिउँसो ३ बजे माइतीघर मण्डलामा आयोजना गरिनेछ।
कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ।
‘नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्ट अपराधीहरूलाई कडाभन्दा कडा सजायको माग गर्दै विरोध प्रदर्शन’ गर्न लागिएको जनाइएको छ।
तर आज काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको तथा मौसमविद्ले दिउँसो अझ बढ्ने सम्भावना रहेको बताएकाले विरोध कार्यक्रम प्रभावित हुनसक्ने देखिन्छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन्।
उनीहरू अहिले काठमाडौं उपत्यकाकै विभिन्न प्रहरी कार्यालयका हिरासतमा छन्। बुधबार थप ३ दिनको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
Shares
प्रतिक्रिया