राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि जाँदा र फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने भएको छ।
संघीय संसद भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम वाचनका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउँदा र फर्किँदा सर्वसाधारणको सडक आवातजावतमा रोक नलगाइने भएको हो।
राष्ट्रपति पौडेलले शुक्रबार अपरान्ह ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।
‘शीतलनिवासबाट नयाँबानेश्वर चोकसम्म राष्ट्रपतिज्यूको सवारी सामान्य हुन्छ,’ ट्रााफिक प्रहरी प्रमुख डीआईजी कोषराज पोखरेलले भने,’ ‘नयाँ बानेश्वर चोकदेखि सर्भिस लेनबाट औपचारिक सवारी हुन्छ। अन्य स्थानम सडक अवरुद्ध हुँदैन।’
शीतलनिवासले पनि राष्ट्रपतिको सवारी गत चैत ७ गते घोडेजात्राका क्रममा भएको जस्तै हुने जनाएको छ।
‘उहिलेको जस्तो सडक नै बन्द गरेर अबदेखि राष्ट्रपतिज्यूको सवारी हुँदैन,’ पौडेलका प्रेस संयोजक खिला कार्कीले भने, ‘घोडेजात्राको जस्तै साधारण सवारी हुन्छ। राष्ट्रपति संसद जाँदा सर्वसाधारणले सास्ती पाउँदैनन्।’
Shares
प्रतिक्रिया