पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि सम्पर्कविहीन बनेकी सांसद् मञ्जु खाँण संसदमा देखिएकी छन्।
पतिलाई चाबहिलको मैजुबहालस्थित निवासबाट प्रहरीले पक्राउ गरेदेखि उनी गायब भएकी थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका पति बालकृष्णलाई भेट्न समेत नपुगेकी उनी ९ दिनपछि संसदमा झुल्किएकी हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा उनी सहभागी भएकी हुन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँण वैशाख २७ गते पक्राउ परेलगत्तै मञ्जु सम्पर्कविहीन थिइन्।
उनले नक्कली शरणार्थी प्रकरणमा बिचौलियासँग साढे ६ करोड रुपैयाँ बुझेको दाबीसहितको अडिओ सार्वजनिक भएको थियो।
उक्त अडिओबारेमा प्रहरीले अनुसन्धान अघि बढाएसँगै गायब भएकी मञ्जु शुक्रबार संसदमा पुगेकी हुन्।
केही सञ्चारमाध्यमहरुले उनी भारतको बाटो हुँदै तेस्रो मुलुकमा लुक्न पुगेको दाबीसहितको समाचार लेखेका थिए।
तर मञ्जुसहित नक्कली शरणार्थी प्रकरणमा जोडिएका केही उच्च पदस्थविरुद्ध प्रहरीले मुद्दा नचलाउने गरी अनुसन्धान अघि बढाएको छ।
आफूसहितका व्यक्तिलाई मुद्दा नचलाउने प्रहरीको सूचना पाएसँगै उनी संसदमा देखिएकी हुन्।
Shares
प्रतिक्रिया