प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कालापानी क्षेत्रमा भारतले नयाँ संरचना बनाइरहेको कुरा आइरहेको उल्लेख गर्दै त्यसको यथार्थबारे सदनलाई तत्काल जानकारी गराउन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरे।
‘कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचारहरु सञ्चार माध्यामहरुमा आएका छन्। त्यो हो कि होइन? यथार्थ के हो? यस सम्मानित सदनलाई र यस सदनमार्फत् सम्पूर्ण नेपालीलाई यी राष्ट्रिय महत्वका सर्वाधिक चासो र प्राथमिकताका विषयमा जानकारी गराउन पर्छ कि पर्दैन?’ओलीले भने, ‘म जानकारी गराउन माग गर्दछु। यस विषयमा प्रधानमन्त्रीजीले संसदलाई जानकारी गराउनै पर्छ। यस सदन र सदनमार्फत् नेपाली जनतालाई सो जानकारी गराउनु पर्छ। हाम्रो भूमिमा संरचना बनिराखेको छ कि छैन? व्यक्तिको सोच, नियत र संस्कारले सामाजिक संस्कृतिको रुप लिँदै जान्छ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारतसँगको समस्याबारे खुलस्त छलफल गरी समस्याहरु समाधान गर्नुपर्ने बताए।
वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन हुने जिकीर गर्दै उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्छ कि पर्दैन? भनेर सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।
Shares
प्रतिक्रिया