नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गठबन्धन सरकार निर्दोषलाई फसाउने योजना बनाएको दाबी गरेका छन्।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे आइतबार बसेको संसद बैठकमा आफ्ना भनाइ राख्न क्रममा उनले यस्तो बताएका हुन्।
‘शरणार्थी प्रकरणमा मेरो सरकारको नेतृत्वको समयमा केही पनि भएको छैन। फेरि छानबिन गरे हुन्छ’, उनले भने, ‘शरणार्थीबारेको प्रतिवेदन क्याबिनेटमा आएपछि मैले अध्ययन गर्न भनेर होल्ड गरेँ, त्यसपछि सामाजिक समितिमा लगेको थिएँ’, उनले भने, ‘मभन्दा पछाडिको सरकारले त्यसबारे के गर्यो जवाफ दिनुपर्छ।’
उनले तत्कालीन नेकपामा देखिएको विवादका बेला आफूले त्यो फाइल हेर्नै नपाएको पनि बताए।
‘त्यसबेला मलाई नै ठेगान लगाउन खोजेका थिए। भित्ता पुर्याउन खोजेका थिए। सडकमै पछार्छौँ भन्दै उफ्रिएका थिए’, उनले भने, ‘त्यसबेला मैले कसरी फाइल हेर्न पाउनु, अघि बढाउनु, त्यहीकारण मैले उक्त फाइल होल्डमा राखिदिएको थिएँ।’
त्यसबेला पुनर्वासमा गएका ४२९ जना शरणार्थी सक्कली नै रहेको बताउँदै उनीहरुको फाइल पछि फेरिएको उनले दाबी गरे।
ओलीले यही प्रकरणमा पक्राउ गरेका भीआईपीहरुलाई सरकारको दबाबमा प्रहरीले छाडिदिएको पनि दाबी गरेका छन्।
‘त्यसबेला ४२९ जना ओरिजिनल थिए तर त्यसपछि कागज फेरियो। माथिको कागज (कभर) उही राखेर व्यक्तिको सूची परिवर्तन गरियो’, उनले भने, ‘यो प्रकरणमा कसैलाई रहर लागेको छ एमालेको नाम लिन। केपी ओलीलाई गाली गर्न रहर लागेको भनेर मात्रै हुँदैन। म गृहमन्त्री, परराष्ट्र मन्त्री र प्रधानमन्त्री भएँ यदि कमजोरी देखिएको छ भने छानबिन होस्।’
उनले आफूहरु सधैँ भ्रष्टाचारीलाई कारबाहीको पक्षमा रहेको पनि बताए। ‘हामी सधैँ भ्रष्टाचारीलाई कारबाही गरियोस् भन्ने पक्षमा छौँ। अहिले निर्दोष फसाउने र दोषी उम्काउने काम भइरहेको छ’, उनले भने, ‘यो कुरा भोलि अझै भयावहरुपमा निस्किन्छ। आगो छोप्न सकिन्छ तर धुवाँ छोप्न सकिँदैन।’
यो प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको पनि उनले दाबी गरे। ‘यो चानचुने कुरा होइन। दोषी नउम्कियोस् तर निर्दोष नफसोस्’, उनले भने, ‘तीन प्रमुख पार्टीका नेता भेट्दा सन्देह भयो भनिएछ। म निष्पक्ष र तटस्थ रुपमा यसको छानबिन हुनुपर्छ भन्ने पक्षमा छु।’
ओलीले जोसुकैले गरे पनि भ्रष्टाचार छानबिन हुनुपर्ने बताए। ‘सयौँ वर्षपछि पनि कारबाही हुनुपर्छ। व्यक्तिको मृत्यु भए पनि काण्ड त इतिहासमा रहन्छ’, उनले भने, ‘एकछिन भ्रष्टाचार ढाकछोप गरिएला, तर भ्रष्टाचारले गुडबाई भन्दैन सी यु लेटर भन्छ।’
Shares
प्रतिक्रिया