नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाएका हुन्।
उनले नेपालको कुनै सरकारी दस्तावेजहरुमा यो शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएको बताए।
उनले नेपाली कांग्रेसले जनयुद्ध शब्दलाई स्वीकारेमा उक्त पार्टीको अन्त्य हुने पनि बताए।
‘सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ। यहाँ विगतका आन्दोलनको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि उच्चारण भएको छ। यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो। ०७२ को संविधानपछि नेपालका कुनै सरकारी दस्तावेजहरुमा यो शब्द उल्लेख छैन। पहिलो पटक प्रधानमन्त्रीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ’, उनले भने, ‘यतिबेला म प्रधानमन्त्री पुष्पकमल दाहालजीप्रति इंगित गरिराखेको छैन। यदि यो १ नम्बर बुँदा कांग्रेसले स्वीकार्छ भने मलाई लाग्छ कि इन्ड अफ द हिस्ट्री कांग्रेसकै इन्ड अफ द हिस्ट्री हो।’
भट्टराईले नीति तथा कार्यक्रममा महिला, दलित र पिछडिएका क्षेत्रका वर्ग र समुदायबारे उल्लेख गर्न नसकेको बताए।
Shares
प्रतिक्रिया