केही दिनयता सामाजिक सञ्जालमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बोलेको एउटा भिडिओ क्लिप्स भाइरल भइरहेको छ।
उक्त भिडिओमा उनले धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङलाई ‘बौलाहा’ भनेका छन्। यति मात्र होइन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि ‘तँ’ सम्बोधन गरेका छन्।
गएको शनिबार अखिल नेपाल महिला संघ (अनेमसंघ) को दोस्रो पूर्ण बैठकमा बोलेको आफ्नै बोलीले अहिले उनलाई नराम्ररी पोलिरहेको छ। सामाजिक सञ्जालमा उनले निकै आलोचना खेप्नुपरेको छ। अनेमसंघको बैठकमा उनले उक्त कुरा बोलेर पाएको तालीभन्दा अहिले उनीविरुद्ध बर्सिरहेका गालीको वजन निकै माथि छ।
सामाजिक सञ्जालमा निरन्तर आलोचित भएपछि उनले स्पष्टीकरण दिएका छन्।
यस्तो छ सामाजिक सञ्जालमा उक्त कार्यक्रम र भाइरल भिडिओबारे उनले दिएको स्पष्टीकरण:
आन्तरिक कार्यक्रम र बाहिरी चर्चा !
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा मैले सामाजिक सञ्जालबारे बोलेको भिडिओ बाहिर आयो। केन्द्रीय कमिटीको त्यो बैठक सार्वजनिक थिएन। छलफलको प्रयोजन गोप्य थियो, विषय रणनीतिक थियो। आन्तरिक भएकोले यस्ता बैठकहरूमा प्राय: अनौपचारिक भाषा बोलिन्छ।
अनौपचारिक भाषा बोल्दा शब्द तौलिएर बोलिँदैन। त्यहाँ पनि त्यस्तै भएको थियो, सबै चिने-जानेकाहरूबीच मैले बोल्दा कुनै सावधानी अपनाइनँ । आफ्नालाई सकेसम्म उत्साहित पार्ने र पार्टीले राखेको लक्ष्यतिर प्रतिवद्ध बनाउने प्रयास गरें। यो डिजिटल युगमा गोप्य, गोप्य रहँदो रहेनछ– कुनै न कुनै तरिकाले ओपन हुँदो रहेछ। हो, यहाँ चाँहि मेरो असावधानी हुनपुग्यो।
हामी छर–छिमेकमा, दाजुभाइका बीचमा कुरा गर्दा दाइ सा'प, काका सा‘प भन्दैनौं। लोकल स्ल्याङ्गमा– कालेदाइ, सेतेदाइजस्ता शब्दहरू पनि प्रयोग हुन्छन्। त्यस्तै, त्यो बन्द–बैठकमा कुरा राख्दा अनौपचारिक तबरबाट प्रयोग भएको शब्द र वाक्य र वाक्यांश सार्वजनिक हुँदा सायद अशोभनीय सुनियो। अमर्यादित जस्तो लाग्न पुग्यो।
‘भाइरल–भिडिओ’को मेरो अभिव्यक्तिलाई यसरी बुझिदिनु होला।
हर्क साम्पाङ र बालेन साह जस्ता साथीहरू स्थानीय सरकारको नेतृत्वमा आउनु भएको छ। केही गर्छुँ भन्ने युवाहरू, चाहे मेरा पार्टीका हुन् वा स्वतन्त्र, उहाँहरूप्रति वैरभाव राख्नुपर्ने कारण नै छैन। नजिकबाट मलाई चिन्ने जो कोहीलाई थाह छ– फ्रन्टालाइन, प्रचार, वाहवाही भन्दा पर हदैसम्म काममा जोतिन चाहने मान्छे हुँ। त्यसैले म अहिले पनि भन्छु, यो देश बनाउन काममा निर्लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी 'बहुलाउनै' पर्छ।
हर्कजी दिनरात जनतालाई श्रममा लगाइ पानी खुवाउने भनेर लाग्नु भएको छ। सामाजिक सञ्जालबाट श्रमदान गर्न आउन भन्नु भएको रहेछ। म श्रमिक आन्दोलनबाट नै राजनीतिमा आएको मानिस हुँ। मेरो जीवनको ऊर्जाशील ३० वर्ष श्रमिकहरुको हकहित र सुरक्षाका काममा बितेको छ। म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौंला। मौका नमिले पनि म श्रमबाट टाढा छैन।
Shares
प्रतिक्रिया