नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा राखेको भनाईप्रति आपत्ति जनाएका छन्। नक्कली भुटानी शरणार्थीका विषयमा ओलीले संसदबाट निर्दोषलाई फसाउन खोजेको भनी संसदमा बोलेको भनाईप्रति शर्माले आपत्ति जनाएका हुन्।
सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले दोषी र निर्दोषी भनेर फैसला सुनाउन आफूहरु न्यायाधीश नभएको कटाक्ष गरे।
‘पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको नेताले यो रोष्टममा उभिएर नक्कली भुटानी शरणार्थी प्रकरणको अन्य विषयमा समर्थन नै जनाउँला। दोषीलाई उम्काउन खोजेको भनेर गरिएको आशंकामा पनि राज्यले ध्यान देला,’ शर्माले भने, ‘संगै उहाँले निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य उल्लेख गर्नुभयो। यही रोष्टमबाट भन्नुभयो। को दोषी को निर्दोषी भनेर फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं।’
उनले ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै यतिबेला सरकारलाई साथ दिनुपर्ने बताए।
‘यहाँबाट फैसला सुनाउनका लागि अमुक कोही दोषी हुनुहुन्न, फसाउन खोजिँदैछ भन्ने अभिव्यक्रि यहाँबाट राख्ने कुरामा विमत्ति जनाउन चाहन्छु। निर्दोष कोही नफसुन, दोषी कोही नउम्किउन भन्ने नै हो,’ शर्माले भने।
उनले अघि भने, ‘यो समय सरकालाई साथ दिने बेला हो। भ्रष्टाचारको फाइल खोलेको बेला बधाई छ सरकार भन्ने बेला हो। यो समय सरकारबाट बाहिर भएका दलले पनि सरकारलाई समर्थन गर्ने बेला हो। यो समर्थन फिर्ता लिने बेला होइन।’
Shares
प्रतिक्रिया