नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रका कमजोरी सुधार गर्दै जानुपर्ने बताएका छन्।
१५ औँ गणतन्त्र दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। ओलीले जेठ १५ लाई नेपाली जनताको उल्लासपूर्ण पर्वको दिनका रुपमा व्याख्या गरेका छन्।
गणतन्त्रकै कारण अहिले नेपाली जनताहरु स्वतन्त्रताको निर्वाध उपभोग गर्न पाउने खुला समाजमा रहेको पनि बताएका छन्।
‘अहिले आफ्ना मत र मान्यतालाई राख्ने र राज्य सञ्चालकमाथि प्रश्न उठाउन पाउने संवैधानिक अधिकार जनतालाई छ’, उनले भनेका छन्, ‘अहिलेको आवश्यकता गणतन्त्र स्थापनापछिका त्रुटिहरुको प्रचार गर्ने होइन। त्रुटि भएका छन् भने तिनलाई सच्याउनु पर्छ। त्रुटि गर्नेले महसुस गर्ने र सच्चिने काम गर्नु पर्छ।’
उनले जनता अझै अधिकारसम्पन्न भइनसकेको बताउँदै अहिले नै लोकतान्त्रिक प्रणालीलाई गलत भन्न नहुने पनि बताएका छन्।
‘नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकारसम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो। अघिल्लो पुस्ताले भोगेको वंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनु हुन्न’, उनले भने, ‘यसले गणतान्त्रिक शासन व्यवस्था र जनतालाई कमजोर बनाउँछ। गणतन्त्रात्मक प्रणाली सञ्चालन गर्ने क्रममा भएका त्रुटिको अर्थ हिजोको निरंकुशकालमा जनतामाथिका क्रुर दमन, जनताका अधिकारमाथिका बन्देज र हुकुम नै कानुन हुने परिपाटी सही थियो भन्ने होइन। त्यो बर्बरता बिर्सिइएको हुन सक्ला, सही सावित भएको किमार्थ होइन।’
ओलीले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरंकुशतन्त्रमार्फत राज्यस्रोतमाथिको हालीमुहाली गुमेकाबाट ‘लोकतान्त्रिक व्यवस्थामा बेथिति हुन्छ, गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो’ भन्नेजस्ता मिथ्या प्रचार सुरु गरिएका पनि उनले बताएका छन्।
‘२००७ सालमा राणा शाहीको अन्त्य गरेदेखि नै गणतन्त्रको सपना देख्ने हामी नेपालीले यसको तथ्यसंगत खण्डन गर्नु पर्दछ। शासनाधिकार एउटा वंशमा हुन्थ्यो, उसको बोली कानुन हुन्थ्यो, राज्यस्रोतमा उसले चाहेजसरी मनमौजी गर्थ्यो, गणतन्त्रमा जस्तो त्यसबारे प्रश्न उठाउने अधिकार जनतालाई हुँदैनथ्यो। जनताका मुख बन्द गरेर देखाइने सुशासन सुशासन थिएन, हुकुमी बन्देजले खडा गरेको मूर्दाशान्ति थियो’, ओलीले भनेका छन्, ‘तसर्थ, हाम्रा बाआमा, दाजुभाइ, दिदीबहिनीहरुले शहादत गरेर, अङ्गभङ्ग हुनेगरी घाइते भएर र रगत बगाएर ल्याएको यस प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नु पर्छ। मुलुकको मालिक जनता बन्ने प्रणालीको विकल्प एक परिवार, एक बंशको हुकुमी शासन हुन सक्दैन । यसमा हामी सबै स्पष्ट हुनु पर्दछ।’
गणतन्त्र एउटा शासन प्रणाली मात्रै नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दतिसमेत रहेको ओलीले भनेका छन्।
‘यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनु पर्छ, जहाँ सीमान्तकृत, अल्पसंख्यक, गरिबी र बेथितिमा बाँचेका वर्ग, महिला, बालबालिका, पछाडि परेका र पारिएका समुदायबीचमा विभेद र बहिस्करण होइन, राज्यको संरक्षणले स्थान पाउन सकोस्’, ओलीले अगाडि भनेका छन्, ‘लोकतान्त्रिक गणतन्त्रको यस सुन्दर प्रणालीलाई मजबुत बनाएर हामीले गरिवी र पछौटेपनविरूद्धको लडाइँ जित्नु पर्नेछ।’
Shares
प्रतिक्रिया