संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्ध नै छेड्नुपर्ने बताएका छन्।
ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्न पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताए।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई खोज्नुपर्ने बताए।
मन्त्री किरातीले सहिदहरुको अपमान हुन नदिन पनि भ्रष्टाचारविरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताए।
‘हामीले भ्रष्टाचारविरुद्ध लाग्नै पर्दछ। हिजो सुन्थ्यौं–ठूला माछा छन्। ठूला माछा समाउन सकिएको छैन। भ्रष्टाचारको कुरा गर्यो भने खोल्सामा रमाउने गंगटो, भ्यागुता र चेपागाँडा मात्रै पक्रन्छन्। ठूला माछा उम्किन्छन् भन्थे’, उनले भने, ‘जनताले घरघरबाट, मोबाइलबाट गरेको दबाबले आज डल्फिनहरु समाइएका छन। तर अझै खोज्नु छ। ती डल्फिनका बाबा, आमा कहाँ होलान? डल्फिन जन्माउने बाबाआमा कुन नदीको, कुन समद्रमा बसेका होलान? तिनका बोसहरु के गर्दै होलान? तिनीहरुलाई पनि बत्ती बालेर खोज्नु छ।’
किरातीले भ्रष्टाचारविरुद्ध संघर्ष र युद्ध छेडन सके मात्रै समृद्ध नेपालको निम्ति संकल्प पूरा भएर सहिदले देखाएको बाटोमा पाइलाहरु अगाडि सर्न सक्ने बताए।
अन्यथा सहिदको बलिदानबाट आएको व्यवस्थाको रक्षाका लागि लड्न नसके सहिदमाथि अपमान हुने उनको भनाइ छ।
Shares
प्रतिक्रिया